गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई सफल पार्न सबैमा आह्वान गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकाले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल पार्न आजको यस पावन अवसरमा म सबैलाई आह्वान गर्दछु ।” सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने उहाँको भनाइ थियो ।
नेपाल शेर्पा सङ्घद्वारा २१५३ औँ ग्याल्पो लोसार (नयाँ वर्ष) का अवसरमा मङ्गलबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले भन्नुभयो, “वास्तवमा हाम्रो मौलिक पहिचान भनेको यहाँ रहेका विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडपर्व हो ।”
मौलिक नेपाली पहिचानलाई अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व रहेको धारणा व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।
“नेपालको पर्यटन, पर्वतारोहणका क्षेत्रमा ख्याति कमाएका शेर्पा समुदाय इमानदार, परिश्रमी र प्रकृतिप्रेमी जातिका रूपमा परिचित छन्, शताब्दीयौँदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएका यो जाति आज विश्वभर फैलिएर आफ्नो समुदायको मात्र नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुसीको विषय हो,” उहाँले भन्नुभयो ।
यस प्रकारको चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै उहाँले मौलिक नेपाली पहिचानलाई अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो भन्नुभयो ।
उपराष्ट्रपतिको शुभकामना
यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसार, २१५३ को शुभकामना दिँदै देश तथा विदेशमा रहनुभएका शेर्पा समुदायसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
उहाँले नयाँ वर्षका रूपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
सन्देशमा उल्लेख छ, “ग्याल्पो ल्होसार, शेर्पा समुदायको मात्र पर्व नभई सम्पूर्ण नेपालीको साझा सांस्कृतिक सम्पदा हो, जसले बहुभाषा र बहुसंस्कृतिलाई सम्मान गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्दछ ।”