• ६ फागुन २०८२, बुधबार

घोषणापत्रमा शिक्षालाई प्राथमिकता दिन माग

blog

हिसानकाे कार्यक्रममा सहभागीहरु ।

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन ६ गते । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले यही फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन प्रयोजनाका लागि तयार गरिने घोषणापत्रमा शिक्षाका मुद्दालाई प्राथमिकतामा राख्न मुख्य राजनीतिक दललाई अनुरोध गरेको छ । 

हिसानले पत्रकार सम्मेलन गरेर यस्तो माग राखेको हो । मुलुकको सिङ्गो शिक्षा क्षेत्रलाई नयाँ ढङ्गबाट अगाडि बढाउन आवश्यक रहेको बताउँदै हिसानले निजी क्षेत्रको लगानी सुरक्षा सुनिश्चित हुनुपर्नेसमेत बताएको छ । यसका लागि राजनीतिक दल जिम्मेवार र परिपक्व भएर लाग्नुपर्ने हिसानले बताएको छ । 

पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष युवराज शर्माले भन्नुभयो, “मुलुकको विकास र समृद्धि राजनैतिक नेतृत्वको सोच, योजना र कार्यक्रम अनुसार हुने भएकोले सम्पूर्ण राजनीतिक दलले चुनावी घोषणपत्र एवं प्रतिबद्धतापत्रमा देशको शिक्षालाई केन्द्रविन्दुमा राख्न जरुरी छ ।” साथै गुणस्तरीय, रोजगारीमूलक र जीवनोपयोगी शिक्षा मुलुकमै सम्भव भएको बताउँदै अध्यक्ष शर्माले भन्नुभयो, “त्यसका लागि राजनीतिक सिराबाट नेतृत्वले घोषणापत्रमा राखेर मात्रै होइन, कार्यान्वयन गर्न सरोकारवालाको साथ र सहयोग लिँदै अगाडि बढ्नुपर्ने समयको माग हो ।”

पत्रकार सम्मेलनमा हिसानले शिक्षामा लगानी वृद्धि, विद्यालय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षासम्बन्धी ऐन ल्याउने विषयलाई राजनीतिक दलले प्राथमिकतामा राख्नुपर्नेसमेत बताएको छ । हिसानका महासचिव रामहरि सिलवालले निजी क्षेत्रले मुलुकको शिक्षाको एक तिहाइ हिस्सा ओगटेको बताउँदै निजी शिक्षालयको अहिले पनि लगानीलगायत अन्य सुरक्षा हुन नसकेकोमा चिन्ता बढेको बताउनुभयो । 

ठुला लगानी, ठुला पूर्वाधार, दक्ष शैक्षिक जनशक्ति भएको अवस्थामा उच्च शिक्षालाई थप व्यवस्थित गर्दै विद्यार्थीलाई नेपालमा उच्च शिक्षाका लागि रोक्न सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय तथा क्याम्पस थप जिम्मेवार बन्नुपर्ने माग हिसानले गरेको छ । 

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा निजी शिक्षालयमा झन्डै डेढ अर्ब रुपियाँ बराबरको क्षति भएको पनि हिसानले जानकारी दिएको छ ।