• ६ फागुन २०८२, बुधबार

हेलिकोप्टर दुर्घटनामा मानवीय कमजोरी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ६ गते । झन्डै तीन वर्षअघि सङ्खुवासभाको भोटखोला गाउँपालिकामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना मानवीय कमजोरीका कारण भएको देखिएको छ । विसं २०८० वैशाख २२ गते सङ्खुवासभाको मकालु वरुण क्षेत्रमा भएको सिम्रिक एयरको ‘एएस ३५० बी थ्री ई’ हेलिकोप्टर दुर्घटनासम्बन्धी छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा मानवीय लापर्बाहीका कारण दुर्घटना हुन पुगेको उल्लेख छ । 

प्रतिवेदन दुर्घटनामा कुनै प्राविधिक खराबी, इन्जिन फेल वा मौसमको प्रतिकूल असर नभएको स्पष्ट पार्दै पाइलटले अपर अरुण जलविद्युत् आयोजनाको सामान ढुवानीका क्रममा हेलिकोप्टरलाई हावामा पूर्ण स्थिर राख्न नसकेको, गुरुत्वाकर्षणमा आएको परिवर्तनलाई नियन्त्रणमा राख्न पाइलटको सन्तुलन गुमाएको, सामान र कर्मचारी ओराल्ने क्रममा भार सन्तुलन अचानक परिवर्तन हुँदा हेलिकोप्टर बायाँ ढल्किन पुगेको र त्यसलाई सच्याउने क्रममा पाइलटले साइक्लिक कन्ट्रोल अत्यधिक प्रयोग गरेको उल्लेख छ ।

त्यस्तै आयोगले सामान ढुवानीका क्रममा व्यक्तिको संलग्नता सुरक्षा मापदण्डविपरीत भएकोसमेत ठहर गर्दै सामान झुन्डाएर गरिने उडानका क्रममा तालिमप्राप्त कर्मचारी मात्र संलग्न गराउनुपर्नेसमेत उल्लेख गरेको छ । उक्त दुर्घटनामा एक स्थानीय सहयोगीको घटनास्थलमै मृत्यु भएको थियो भने पाइलट र एक स्थानीय गम्भीर घाइते भएका थिए । हेलिकोप्टर दुर्घटनापछि सरकारले वैशाख २९ गते तत्कालीन संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा छानबिन समित गठन गरेको थियो ।