टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), फागुन ५ गते। गुल्मी बिद्युतको राष्ट्रिय प्रसारणमा जोडिएको छ । उनायचौर–पौदी–बुर्तिबाङ्गको परीक्षण सफल भएर सेवा सुरु भएको हो । सोही अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजनाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
उहाँले बिद्युतको राष्ट्रिय प्रसारणसँग जोडिने कुरा जिल्लाको लागि ज्यादै महत्वपूर्ण काम भएकाले बिद्युतको अभावमा रोकिएका उद्योग कलकारखानामा लगानी गरेर पहाडको बसाइसराई रोक्नु नै आफूहरुको उद्देश्य रहेको बताउनुभयो । यसले अवसरका ढोकाहरु खोलेकाले सदुपयोग गरेर आर्थिक समृद्धिका काममा लाग्न उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई शाक्यले आग्रह गर्नुभयो ।
प्राधिकरणको लगानीको उद्देश्य देशको अर्थतन्त्रमा टेवा दिने भएकाले साना, मझौला र ठुला उद्योगलाई प्रयाप्त बिद्युत पुग्ने पहाडी जिल्लामा कृषिमा आधारित उद्योगको सम्भावना बढेको बताउनुभयो । उहाँले राष्ट्रिय प्रसारण लाइनले जिल्लाहरुमा पटक–पटक बिद्युत अवरुद्ध हुने समस्याको अन्त्य गर्नुको साथै आर्थिक समृद्धिको आशा जगाएको बताउनुभयो ।
दुई दिन रेसुङ्गा नगरपालिका –७ उनायचौर सवस्टेशनदेखि बागलुङ बुर्तिबाङ्गसम्मको १३२ केभी राष्ट्रिय प्रसारण लाइनको परीक्षण गरेर सञ्चालन गरिएको छ । यो राष्ट्रिय प्रसारण लाइनको उनायचौर र मुसिकोट नगरपालिका –१ पौदी अमराईमा गरेर दुईवटा सवस्टेशन गुल्मीमा रहेका छन् । कपिलवस्तुको मोतिपुरदेखि–सन्धिखर्क–तम्घास–बुर्तिबाङ्ग सम्म करिव ८६ किलोमिटर दुरीमा पाँच सवस्टेशन र २४८ टावर निर्माण गरिएको कपिलवस्तुको मोतिपुरदेखि–सन्धिखर्क–तम्घास–बुर्तिबाङ्ग आयोजना प्रमुख इन्जिनीयर मनोज चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म चार अर्ब सात करोड ६१ लख ६२ हजार ७३५ रुपियाँमा सवस्टेशन र प्रसारण लाइन बिस्तार भएको छ । आयोजनाको लगानी नेपाल सरकार, उर्जा वलस्रोत तथा सिँचाइ मन्त्रालय र बिद्युत प्राधिकरणले गरेको छ। आयोजना प्रमुख चौधरीले एउटै जिल्लामा दुई वटा राष्ट्रिय प्रसारण लाइनको दुई वटा सवस्टेशन गुल्मीमा मात्र रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“योजनाको सफल परीक्षण गर्न पाएकामा हामी त खुसीनै छौ त्यो भन्दा भाग्यमानी गुल्मेली नागरिक छन् । एउटै जिल्लामा दुईवटा सवस्टेशन निर्माण भएका छन् ।” कुनै समय टुकी बालेर चुनावी अभियान सञ्चालन गर्नुपर्ने गुल्मीका निर्वाचन क्षेत्रहरुमा दुई सवस्टेशन निर्माण गरेर बिद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिन पाउनु गुल्मेलीको लागि निकै सुखद बिषय भएको बताउनुभयो ।
पूर्व उर्जामन्त्री गोकर्ण बिष्टले आफुले समावेश गरेको महत्वपूर्ण आयोजना सफल हुँदा गर्वको महसुस भएको बताउँदै उद्योग कल कारखानामार्फत जनताको आर्थिक समृद्धिको पक्षमा काम गरिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले राष्ट्रिय प्रसारण लाइनमा जोडिने बित्तिकै नागरिक मात्र नभएर सरकारी काममा समेत सहज भएको बताउनुभयो ।