गोरखापत्र अनलाइन
दमक, फागुन ५ गते । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नंं ५ लाई केन्द्रित गरी ४२ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । प्रतिवद्धतापत्रमा मुख्य चार क्षेत्र उहाँले छनौट गर्नुभएको छ ।
मंगलबार प्रतिवद्धतापत्र सार्वजनिक गर्दै उहाँले सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधार लगायतका क्षेत्रको विषय समेट्नुभयो । झापा क्षेत्र ५ का उम्मेद्वार रहनुभएका एमाले अध्यक्ष ओलीको प्रतिवद्धतापत्रमा केही राजनीतिक विषयमा प्रष्ट पार्नुभएको छ । प्रतिवद्धतापत्रमा भनिएको छ, “नेकपा (एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार हो । २००६ साल वैशाख १० गते स्थापना भई पार्टीले ७६ वसन्त पार गरेको छ। स्थापनाकालदेखि हालसम्म यस पार्टीले अनेकौं हन्डर ठक्कर खाँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।”
प्रतिवद्धता पत्रमा उल्लेख भएअनुसार २०७४ र २०७८ करिब साढे तीन वर्षमा डेढ वर्ष जति कोभिड महामारीले जनजीवनलाई अस्तव्यस्त बनायो । बाँकी दुई वर्षमा मुलुकले पूर्वाधार विकासको इतिहासमा फड्को मारेको छ । प्रतिवद्धतापत्रमा भनिएको छ, “२०७५ सालको निर्वाचनबाट कुनै पनि पार्टीको बहुमत नआएपछि सरकार भने अस्थिर बन्दैगयो । सत्ता टिकाउन दलहरुबिच अस्वस्थ गतिविधि हुन थाले । यस्तो बेलामा नेकपा (एमाले) मुकदर्शक भएर बस्न हुँदैनथ्यो, त्यसकारण स्थिर सरकार दिनका लागि दुई ठुला दलहरूबिच सत्ता साझेदारी गरियो ।’
सुखी नेपाली समृद्ध नेपाल
नेकपा (एमाले) ले सुखी नेपाली समृद्ध नेपालको नारा अगाडि सारेको उल्लेख गर्दै यो नारा मात्र नभई कार्यक्रम रहेको स्पष्ट पार्नुभएको छ । यो कार्यक्रमको विकल्प नरहेको ठहर गर्दै अध्यक्ष ओलीले विगतमा भएका राम्रा कामको संरक्षण र अधुरा कामको जिम्मेवारी आफूले लिने प्रतिवद्धता जनाउनुभएको छ ।
प्रतिवद्धता पत्रमा भनिएको छ, “सुशासन लोकतन्त्रको सुन्दरता हो । देशमा राजनैतिक अस्थिरताले पर्याप्त सुशासन कायम नभएको कुरा सबैमा जगजाहेर छ । सुशासन कायम गर्ने हाम्रो प्रतिबद्धता र कार्यक्रम रहनेछ ।’ भ्रष्टचार नियन्त्रणको सवालमा उल्लेख गरिएको छ “देशमा भएको भ्रष्टाचार र कुशासनको अन्त्य गर्नु अपरिहार्य भएको छ ।त्यसका लागि कार्यक्रमको आवश्यकता पर्छ ।’ विगतमा एमाले सरकारमा हुँदा भ्रष्टाचार नियन्त्रणको काम सुरु गरी केही उपलब्धिसमेत प्राप्त भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणमा शुन्य सहनशीलता अपनाइने अध्यक्ष ओलीको प्रतिवद्धता छ ।
राष्ट्र, राष्ट्रियताको सवालमा, नेपाल भूपरिवेष्ठित मुलुक भएको र देशको समस्या विशेषखालका हुने उल्लेख गर्दै भूपरिवेष्ठित मुलुकलाई भूजडित बनाउनका लागि छिमेकी देशहरूसँग व्यापार तथा पारवहन सन्धिहरूमार्फत कूटनीतिक रूपमा काम अगाडि बढाइने उहाँको प्रतिवद्धता छ ।
एमालेले भौतिक पूर्वाधार क्षेत्रको विकासले आर्थिक विकासको ढोका खोल्ने कुरा सबैमा विदितै रहेको उल्लेख गर्दै यस क्षेत्रमा भौतिक पूर्वाधार लगायतका क्षेत्रमा पर्याप्त काम भएको उहाँको भनाइ छ । कतिपय काम अधुरा रहेको उल्लेख गर्दै त्यसलाई आगामि दिनमा सम्पन्न गर्ने उहाँको भनाइ छ ।
एजेण्डा र प्रतिवद्धता
नेकपा एमाले क्षेत्र नं ५ को ४२ प्रतिवद्धतामा आव २०८२–८३ मा विनियोजित भई हाल रोकिएका र अधुरा रहेका सबै विकास निर्माणका कामहरू पूरा गर्न सशक्त पहलकदमी गर्ने प्रतिवद्धता जनाउनुभएको छ । त्यस्तै अन्य प्रतिवद्धताहरुमा भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी जनतालाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने, जनता आवास र विपन्न आवास निर्माणका कार्यक्रमलाई निरन्तरता दिइने, आदिबासी, जनजाति, दलित, सन्थाल, मुस्लिमलगायतका पछाडि पारिएका सबै समुदायका नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउने उल्लेख छ।
त्यसैगरी स्वास्थ्य बिमा सेवालाई थप वृद्धि गर्दै अझै व्यवस्थित गर्ने, स्तरोन्नति भइसकेका सबै ग्राभेल सडकहरूलाई क्रमशः कालोपत्रे गर्ने, अधुरो रहेका सबै सामुदायिक भवनहरूलाई क्रमिक रूपमा निर्माण कार्य सम्पन्न गर्ने, आवश्यक स्थानहरूमा अन्न, फलफूल भण्डारणका लागि शीतभण्डार निर्माण गर्ने, प्रत्येक पालिकामा एक–एक सुविधा सम्पन्न खेल मैदान निर्माण र क्रमशः वडा स्तरसम्म खेलमैदानलाई विस्तार गर्ने प्रतिवद्धता जनाइएको छ ।
सबै सामुदायिक क्याम्पस र विद्यालयलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउने, कृषिमा सिँचाइको सुविधालाई भूमिगत र सतही सिँचाइका माध्यमबाट व्यवस्थापन गर्ने, कृषिलाई आधुनिकीकरण गर्दै बान्त्रिकीकरणतर्फ उन्मुख गराइ बजारीकरण गर्न पहल गर्ने, यस क्षेत्रका जनताको कृषि कर्मलाई मध्यनजर गरी आवश्यकताअनुसार जैविक मल कारखाना स्थापना गर्न पहल गर्ने, समग्र कृषि क्षेत्रको विकास गरी खाद्यन्नमा आत्मनिर्भर बनाउने, सबै किसिमका अव्यवस्थित बजारहरूलाई व्यवस्थित गराउने उल्लेख छ।
यस्तै दमक र गौरादह बजारलाई आधुनिकीकरण गर्दै गौरीगञ्ज बजारमा थालनी गरिएको स्मार्टसिटीको कार्यक्रमलाई यथाशीघ्र कार्यान्वयन गराउने, यस क्षेत्रमा रहेका अन्य बजारहरूलाई पनि व्यवस्थित बजारको रूपमा विकास गर्दै जाने, रतुवा, मावा, कमल खोलाको तटबन्धन कार्य पूरागरी किस्नी, वाइसी, गेरिया, भुत्लुङ, केखां खोला, रामचन्द्रे, घान्दुलगायतका खोलाहरूमा आवश्यक तटबन्धन गर्ने, दमक चिसापानी रवि सडक पुनः ठेक्का लगाई निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाइने प्रतिवद्धतामा उल्लेख छ ।
यसैगरी दमक ३ को महेश चौकदेखि उर्लाबारी जोहने मावा खोलामा पक्की पुल निर्माण गर्न पहल गर्ने, दमक ३ स्थित बिजिनेस टावरलाई सञ्चालनमा ल्याउने र आसपासको जग्गा ल्यान्डपुलिङ गर्न पहल गर्ने, दमकमा रहेका विज्ञान पार्क, इन्द्रेणी ताल, पशुपति सिमसार क्षेत्र र लानेको बाँधलाई विकास गरी पर्यटकीय क्षेत्र बनाउने, नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्ने, दमक ३ मा प्रस्ताव गरिएको मदन भण्डारी रङ्गशाला निर्माणमा पहल गर्ने विषयलाई पनि प्रतिवद्धतापत्रमा समेटिएको छ ।
एमालेले कमल ५ स्थित आदिवासी रङ्गशालालाई आधुनिक स्तरको रङ्गशालाको रूपमा निर्माण कार्य सम्पन्न गर्न पहल गर्ने, दमक, कमल र गौरादह नगर अस्पताल साथै गौरीगञ्ज अस्पतालको स्तरवृद्धि गर्ने, पाडाजुँगी – गौरीगञ्ज – आल्टाबारी सडक चौडा गर्दै स्तरोन्नति गर्ने, हुलाकी मार्गअन्तर्गत माई नदी पुलको अधुरो काम पूरा गर्ने, विराट बुद्धपार्कको काम पूरा गर्न पहल गर्ने, खानेपानी आयोजनाका सबै अधुरा निर्माण कार्य सम्पन्न गर्ने, प्रत्येक घरपरिवारलाई स्वच्छ खानेपानी प्रबन्धका लागि पहल गर्ने प्रतिवद्धता जनाइएको छ ।
निर्माण सम्पन्न भएको दमक सभाहल सञ्चालनमा ल्याउने, कमल स्थित प्रादेशिक आयुर्वेदिक अस्पताललाई सुविधा सम्पन्न शिक्षण अस्पतालको रूपमा स्तरवृद्धि गर्ने, कमल स्थित साधु होलीलाई नमुना सिमसारको रूपमा र बाल्मीकि आश्रमलाई सांस्कृतिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने, स्तुवामाई वृक्षारोपण आयोजनाअन्तर्गतको वन क्षेत्रमा आम्दानीमूलक फलफूलका बिरुवा लगाई यो क्षेत्रलाई फलफूलमा आत्मनिर्भर बनाउने, गौरादह ६ तेलियाडाँगीबाट सिजुवा बजार जोड्ने रतुवा खोलामा पक्की पुल निर्माण गर्न पहल गर्ने, गौरादह –५ चप्रामारीदेखि मोरङको कुनामारी जोड्ने रतुवा खोलामा पक्की पुल निर्माण गर्न पहल गर्ने प्रतिवद्धता एमालेको रहेको छ।