माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की, फागनु ५ गते । आभा फुटबल क्लब उज्वेकिस्तान पोखरामा जारी आहाररा पोखरा गोल्ड कपको २५ औँ संस्करणको सेमिफाइनल यात्रा तय गरेको छ । मंगलबार पोखरा रङ्गशालामा भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १—० गोलले पराजित गरी आभा सेमिफाइनल पुगेको हो । आभालाई सेमिफाइनल पुर्याउन उमिदजोन कारिलोभले एक गोल गर्नुभयो ।
खेलको ५६ औँ मिनेटमा उहाँले गरेको गोल नै मंगलबारको खेलको पहिलो, अन्तिम र निर्णायक गोल हो । उहाँ नै प्लेयर अफ दी म्याच घोषित हुनुभयो । दुबै टोलीले खेलमा पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् । आभाले सेमिफाइनलमा जाउलाखेल युथ क्लबसँग बिहीबार खेल्नेछ । गत वर्ष २४ औँ आहारारा पोखरा गोल्ड कपको उपाधि जितेको उज्बेकिस्तानको ब्ल्याक बुल्स क्लब अहिले आभा फुटबल क्लबको नामबाट प्रतियोगितामा सहभागी भएको हो ।
प्लानिङ ब्वाइजका प्रशिक्षक पञ्कज साहीले खेलाडीले राम्रो खेलेपनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यहोरेको बताउनुभयो । माघ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनल खेल आयोजक सहारा क्लब र मनाङ मस्र्याङ्दी क्लबबिच हुनेछ ।