• ६ फागुन २०८२, बुधबार

‘आचारसंहिता पालना गरी स्वच्छ निर्वाचन बनाऔं’

blog

आचारसंहितासम्बन्धी राजनीतिक दलका नेता, उम्मेदवार र सरोकारवालाबिच गरिएको अन्तरक्रिया । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन ५ गते । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलको प्रचार अभियान सुरु भएपछि जिल्ला निर्वाचन कार्यालय र प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता अनुगमनमा तीव्रता दिएको छ । 

राजनीतिक दलका नेता, उम्मेदवार र अन्य सरोकारवालाबिच अन्तरक्रिया गरेर स्वच्छ र पारदर्शी निर्वाचन सम्पन्न गर्न पनि पहल गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले राजनीतिक दल, कर्मचारी र सञ्चार क्षेत्र आचारसंहितामा बाँधिनु पर्ने बताउनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ बनाउन पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङ क्षेत्र २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले आचारसंहिता सबैले पालना गर्नैपर्ने विषय भएको बताउनुभयो । अर्काको आलोचना गर्दा आफ्नोतर्फ पनि औंला ठडिने भन्दै उहाँले सबै जिम्मेवार बन्दा निर्वाचन स्वच्छ बन्ने उहाँको भनाइ छ । उहाँले कतिपय मौखिक उजुरी आएको र मौखिक रुपमै सचेत गराइएको बताउनुभयो । 

पछिल्लो समय फेसबुक पेज र विभिन्न साइटबाट आउने मत सर्वेक्षण र आचारसंहिता उल्लङ्घनलाई अनुगमन गर्न सेना र प्रहरीका साइबर विज्ञलाई खटाइएको र प्रमाण भेटिँदा कारवाही गरिने उहाँले बताउनुभयो । सञ्चार माध्यमले पनि सचेत बनेर समाचार प्रकाशन गर्न उहाँको आग्रह थियो । बागलुङको सञ्चार माध्यमले संयमित समाचार प्रकाशित गरेको भन्दै उहाँले उत्तेजित रुपमा आउने नक्कली समाचारप्रति सचेत रहन आग्रह गर्नुभयो । 

जिल्ला तहमा आचारसंहिता उल्लङ्घनको विषयमा लिखित उजुरी भने नआएको आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताउनुभयो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले आचारसंहिताबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा पत्रकारले आचारसंहिता उल्लङ्घनको विषय जानकारी गराउनुभएको थियो ।