स्टकहोम, फागुन ५ गते । बाल्टिक सागरको जलस्तर असामान्य रूपमा घटेपछि मध्य स्टकहोममा करिब चार सय वर्षदेखि पानीमुनि गाडिएको १७ औँ शताब्दीको स्विडेनी नौ सैनिक जहाजको भग्नावशेष फेरि सतहमा देखा परेको छ । लामो समयसम्म लुकेको इतिहास एकाएक उजागर हुँदा समुद्री पुरातत्त्वविद्ले यसलाई महत्त्वपूर्ण खोजका रूपमा लिएका छन् ।
क्यास्टेलहोलमेन टापु आसपास पानीको सतह घटेसँगै जहाजको राम्रोसँग जोगिएको पतवारका काठका भागहरू फेब्रुअरीको सुरुदेखि नै बाहिर देखिन थालेका हुन् । ती काठका संरचनाले जहाजको कङ्काल जस्तै स्पष्ट रूपरेखा प्रस्तुत गरेका छन्, जसले १७ औँ शताब्दीको जहाज निर्माण प्रविधिबारे महत्त्वपूर्ण सङ्केत दिन सक्छ ।
स्टकहोमस्थित व्राक-भग्नावशेष सङ्ग्रहालयका समुद्री पुरातत्वविद् जिम ह्यान्सोनले उक्त भग्नावशेष स्विडेनको नौसेनाले जानाजानी डुबाएको बताउनु भएको छ । उहाँका अनुसार नौ सैनिक सेवाबाट अवकाश पाएपछि सन् १६४० आसपास उक्त जहाजलाई क्यास्टेलहोलमेन टापुमा निर्माण गरिएको नयाँ पुलको जगका रूपमा प्रयोग गर्न डुबाइएको थियो ।
पुरातत्वविद्ले हालसम्म जहाजको ठोस पहिचान गर्न सकेका छैनन् । सो क्षेत्रमा पुल निर्माणका लागि एउटै पङ्क्तिमा डुबाइएका पाँच वटा समान भग्नावशेष मध्ये यो एउटा भएको विश्वास गरिएको छ । ती सबै १६औँ शताब्दीको अन्त्यदेखि १७ औँ शताब्दीको सुरुतिरका मानिन्छन् । ह्यान्सोनका अनुसार त्यतिबेला नयाँ काठ प्रयोग गर्नुको सट्टा पूरै जहाजको हुललाई नै आधारका रूपमा प्रयोग गर्नु व्यावहारिक उपाय मानिन्थ्यो ।
“ओक काठ अत्यन्त बलियो हुन्छ, त्यसैले पुलको जग बनाउन जहाजकै संरचना उपयोग गरिन्थ्यो”, उहाँले भन्नुभयो । उहाँले थप स्पष्ट पार्दै बाल्टिक क्षेत्रमा काठ नष्ट गर्ने समुद्री कीरा नहुने भएकाले त्यहाँ डुबाइएका काठका संरचना सयौँ वर्षसम्म सुरक्षित रहन सक्ने बताउनुभयो । यही कारणले चार सय वर्षपछि पनि जहाजका भाग राम्रो अवस्थामा देखिएको उहाँको भनाइ छ ।
यसअघि सन् २०१३ मा पनि जहाजका केही भाग सतहमा देखिएका थिए । तर यस पटक बाल्टिक सागरको जल स्तर झण्डै एक सय वर्षयताकै सबैभन्दा न्यून विन्दुमा पुगेपछि भग्नावशेष पहिलेभन्दा धेरै स्पष्ट रूपमा देखिएको हो । ह्यान्सोनले उत्तरी क्षेत्रमा लामो समयदेखि उच्च वायुदबाव कायम रहँदा बाल्टिक सागरको पानी उत्तर सागर र एटलान्टिकतर्फ धकेलिएको जानकारी दिनुभयो । यही प्राकृतिक अवस्थाले जलस्तर घटाउन भूमिका खेलेको उहाँको विश्लेषण छ । रासस/एएफपी