• ५ फागुन २०८२, मङ्गलबार

पूर्वमन्त्री जितेन्द्रनाराण देव नेपाली कांग्रेसमा प्रवेश

blog

पार्टी प्रवेशपछि सामूहिक तस्बिरमा जितेन्द्रनारायण देव । तस्बिरः विनय कर्ण

विनय कर्ण

सप्तरी, फागुन ५ गते । नेकपा (एमाले) परित्याग गर्नुभएका पूर्वमन्त्री जितेन्द्रनाराण देव नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा मङ्गलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा देवसहित एक दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

उहाँलाई नेपाली कांग्रेसका जिल्ला सभापति रामेदव साह, उपसभापति रामकुमार यादव, सचिव सनतकुमार मण्डल र नवनिर्वाचित राष्ट्रियसभा सदस्य रञ्जित कर्णले फुलमाला, अविर लगाएर पार्टी प्रवेश गराउनुभयो।

पार्टी प्रवेशपछि देवले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पारित नीति, विचार, योजना र प्रतिबद्धतालाई आत्मसात गर्दै कांग्रेस पार्टीमा प्रवेश गरेको बताउनुभयो । 

उहाँले गगन थापा नेतृत्वको कार्यसमिति प्रति विश्वास जागेर कांग्रेसमा फर्किएको स्पष्ट पार्नुभयो ।

कांग्रेसको विशेष महाधिवेशनले पारित गरेको नवीन नीति र नयाँ सोचको नयाँ नेतृत्वले देशमा सामाजिक, राजनीतिक रूपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक ढङ्गले अघि बढाउने र पार्टीलाई बदल्ने कार्य सुरु गरे जस्तै देशलाई पनि जनहितमा बदल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विद्यार्थी कालदेखि राजनीतिमा लाग्नुभएका देव एमाले, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेस पार्टीमा आएर राष्ट्रिय सभा सदस्य समेत बन्नुभएको थियो ।

राष्ट्रिय सभाको पदावधि सकिएपछि पुनः एमालेमा प्रवेश गर्नुभएको उहाँले केही दिन अघि सप्तरीमा पत्रकार सम्मेलन गरेर एमाले परित्यागको घोषणा गर्नुभएको थियो ।