सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) फागुन ५ गते । फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटमा एक हजार ८ जना कर्मचारी परिचालन गरिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले निर्वाचनका लागि आवश्यक कर्मचारी परिचालन गर्ने भएको हो ।
धनकुटामा १ सय ६६ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रमा रहेका छन् । जसका लागि आवश्यक पर्ने एक हजार ८ कर्मचारी परिचालन हुने भएका हुन् । एक सय ६६ मतदान केन्द्रमा ६ जनाका दरले र अस्थायी मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी परिचालन हुने भएका छन् । मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगि परिचालन हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो । यस्तै अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी एक जना परिचालन हुने छन् ।
धनकुटामा रहेका १ सय ६६ मतदान केन्द्रमा १ सय ६६ मतदान अधिकृत, १ सय ६६ सहायक मतदान अधिकृत, ४ सय ९८ सहायक कर्मचारी र १ सय ६६ कार्यालय सहयोगी परिचालन हुने भएका छन्। त्यसैगरी दुइ वटा अस्थायी मतदान केन्द्रमा २ मतदान अधिकृत, २ सहायक मतदान अधिकृत र २ सहयोगी कर्मचारी परिचालन हुने भएका जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीले ५ सय भन्दा कम मतदाता रहेको केन्द्रमा २ जना र ५ सय भन्दा बढी मतदाता रहेको केन्द्रमा ३ जना स्वयम् सेवक नियुक्त गर्ने छन् । अस्थायी मतदान केन्द्रमा भने स्वयम् सेवक नियुक्त नहुने पाइएको छ ।
धनकुटाका सहायक निर्वाचन अधिकृत इन्द्रकुमार योङ्हाङका अनुसार समानुपातिक र पारदर्शी हिसाबले कर्मचारी खटाइने काम हुनेछ । उहाँले भन्नुभयो, "निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन आवश्यक निर्देशन समेत दिइने छ ।"
निर्वाचनमा खटिने कर्मचारीको लागि आगामी १३ गतेदेखि १५ गतेको बिचमा आवश्यक तालिम दिने तयारी रहेको उहाँले बताउनुभयो । यस पटकको निर्वाचनमा महिला कर्मचारी परिचालन गरिएको साथै कर्मचारीको टुङ्गाे भइसकेको र अब व्यवस्थापन समितिले टुङ्ग्याउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । केही दिन भित्रै कर्मचारी कहाँ कोको खटिए सूचना प्रकाशित गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कुनै एक मतदान केन्द्रमा पूरै महिला कर्मचारी मात्रै परिचालन गरिएको छ ।
स्थानीय कर्मचारीलाई फरक मतदान केन्द्र पर्ने गरेर खटाउने तयारी गरिएको छ । निर्वाचनमा खटिएका कर्मचारीलाई भौगोलिक रुपमा दुर्गम र दूरीका हिसाबले सेवा सुविधा प्रदान गरिनेछ । धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काका अनुसार निर्वाचनमा खटाइने कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइ सकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कर्मचारी कहाँ कसरी र को–को खटाउने भन्ने विषयमा छलफल भइरहेको समेत जानकारी दिनुभयो ।