• ३ असार २०८१, सोमबार

बढ्यो उडान सुनिश्चितता

blog

काठमाडौँ, साउन २ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र दैनिक पहिलो उडान गर्ने व्यवस्था अन्त्य गर्दा उडान सुनिश्चितता ९० प्रतिशतले बढेको छ । मोफसलबाट पहिलो उडान सुरु भएसँगै काठमाडौँमा एकै समयमा अवतरण हुने एक हजार हाराहारीका यात्रुको व्यवस्थापनसहित विमानस्थलको एयर ट्राफिक र टर्मिनल भवनमा हुने भीडसमेत नियन्त्रित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले मोसफलबाट उडान सुरु भएपछि काठमाडौँ विमानस्थलमा उडान तथा अवतरणमा यसअघि हुँदै आएको जहाज डिले, पार्किङलगायतका समस्या अहिले घटेको बताउनुभयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक वायुसेवाको चाप बढेका कारण पार्किङ र उडानमा समेत समस्या हुन थालेपछि प्राधिकरणले असार १४ गतेदेखि हवाईजहाज र हेलिकोप्टर काठमाडौँबाहिरका विमानस्थलमा रात्रि विश्राम गर्नुपर्ने र बिहानको उडान त्यहीँबाट गर्नुपर्ने निर्णय गरेको थियो । त्यसअघि विमानस्थलमा पार्किङ चाप बढ्दा निर्धारित समयका लागि टिकट काटेका यात्रु एक घण्टाअघि विमानस्थल पुग्थे तर पार्किङमा रहेका जहाज निकाल्न लाग्ने समय, जहाज अवतरणमा लाग्ने समयका कारण उडान दुई घण्टासम्म ढिला हुने गरेको थियो ।

उडान दुई घण्टासम्म ढिला हुने गरेकोमा मोफसलमा विश्रामपछि मौसम र प्राविधिक कारणबाहेक आधा घण्टाभन्दा बढी डिले हुँदैन

चुडालले भन्नुभयो, “अहिले मौसम र प्राविधिक कारणबाहेक कुनै पनि उडान बढीमा आधा घण्टाभन्दा बढी डिले हुँदैन ।” विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले प्राधिकरणको पछिल्लो निर्णयले अफ सिजनमा पनि हवाई यात्रुको अकुपेन्सी उल्लेखनीय बढाउन सहयोग पुगेको बताउनुभयो ।

उक्त निर्णय कार्यान्वयनमा आएसँगै सेवाग्राहीलाई सहजता पनि थपिएको छ तर हवाई इन्धनमा भएको मूल्य वृद्धिका कारण हवाई भाडा बढ्दा भने यात्रुलाई सास्ती भएको छ । अहिले धनगढीका बासिन्दा एकै दिनमा काठमाडौँको सरकारी काम सकेर धनगढी गएर घरमै बस्न सक्ने भएका छन् । सार्वजनिक यातायातबाट १८ घण्टा र हवाई यातायातबाट एक दिन काठमाडौँ आउन र भोलिपल्ट फर्किने अवस्था रहेकोमा अब एकै दिन आउजाउ सम्भव भएको हो ।

नयाँ नियम कार्यान्वयनमा आएपछि धनगढीबाट बिहानको पहिलो उडानमार्फत काठमाडौँ आउनुभएका पुष्प ओझाले विदेश जान थालेका छोरालाई बिदाई गरेर त्यही दिन घर फर्किन पाउँदा निकै खुसी लागेको बताउनुभयो । धनगढी मात्र नभई अन्य छवटा सहरका विमानस्थलबाट पहिलो उडानमार्फत काठमाडौँ आउने यात्रुको सङ्ख्या बढेको छ ।

यो निर्णयले अफ सिजनमा पनि हवाई यात्रुको अकुपेन्सी उल्लेखनीय बढाउन सहयोग 

धनगढी विमानस्थल प्रमुख रामचन्द्र भट्टले भन्नुभयो, “बिहानको पहिलो उडानमार्फत काठमाडौँ जाने यात्रु उडान समयभन्दा एक घण्टाअगावै विमानस्थल पुग्न थालेका छन् । मोसफलबाट पहिलो उडान सुरु भएयता ९० प्रतिशत उडान तोकिएकै समयमा हुँदै आएको छ ।” यसअघि धनगढीका लागि काठमाडौँबाट विमान उडे नउडेको यकिन गरेर मात्रै विमानस्थल आउने यात्रु अहिले स्थानीय मौसमको आधारमा विमानस्थल आउन थालेका छन् । प्राधिकरणले मोफसलका विमानस्थलमा ‘नाइट स्टप’ गर्न निर्देशन दिएपछि अहिले ३५ वटा पहिलो उडान मोफसलका विमानस्थलबाट हुँदै आएको प्राधिकरणका उपप्रबन्धक तथा सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो ।

काठमाडौँबाहिर आधार तोकिएका विमानस्थल हाल १८ घण्टा सञ्चालनमा रहेकाले त्यहाँको पर्यटन व्यवसाय चलायमान भई हवाई कम्पनीलाई समेत पार्किङ शुल्क, नेभिगेसन शुल्क र ल्यान्डिङ शुल्कमा सहुलियत हुने उहाँको भनाइ छ । हेलिकोप्टर (रोटर विङ्स)लाई समेत तोकिएकै बेसबाट उडान सुरु गरेको उहाँले बताउनुभयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान, अवतरणको चाप व्यवस्थापनलाई थप सहजता बनाउन विमानस्थलस्थित आन्तरिकतर्फ पार्किङतर्फ वर्षौंदेखि बिग्रिएका १७ वटा जहाज र हेलिकोप्टरलाई पनि हटाउन सम्बन्धित विमान कम्पनीलाई पत्र काटिसकेको छ । प्रवक्ता सिटौलाले भन्नुभयो, “पुराना काम नलाग्ने जहाजले जमिन ओगट्दा पार्किङ क्षेत्र साँघुरो र जोखिमपूर्ण रहेकाले मर्मत गरेर सञ्चालनमा ल्याउन मिल्ने अवस्थामा रहेका र कवाडी भइसकेका जहाजको चाँडै व्यवस्थापन हुन्छ ।” बिग्रिएका जहाजका कति कम्पनी त अहिले अस्तित्वमै छैनन् तर ती कम्पनीका जहाज भने अस्थिपञ्जर अवस्थामा विमानस्थलमा रहेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार हाल ११ वटा हेलिकोप्टर कम्पनीका ३८ वटा हेलिकोप्टरमध्ये १४ वटा हेलिकोप्टर रात्रि विश्रामका लागि काठमाडौँबाहिर जान थालेका छन् । २४ वटा हेलिकोप्टरले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रात्रि विश्रामको सुविधा पाइरहेका छन् ।

Author

मीनराज भण्डारी