काठमाडौँ, फागुन ३ गते । आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अपराजित रहदै च्याम्पियन बनेको महेन्द्र ज्योतिले पहिलो पटक उपाधि जितेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा महेन्द्र ज्योतिले नाम्चे युथ क्लबलाई ४–१ गोलले हरायो । महेन्द्र ज्योतिका पासाङ गेल्जेन शेर्पाले दुई तथा पेम्बा स्माइल शेर्पा र समिप राईले एक एक गोल गर्नुभयो । नाम्चेका नवाङ तेन्जिङ शेर्पाले सान्त्वना गोल फर्काउनुभयो ।
खुम्जुङ युथ क्लबले खुम्बु युनाइटेड क्लबलाई ४–१ गोलले हराउदै तेस्रो भयो । शीर्ष तीनस्थानमा रहने टिमले क्रमशः एकलाख ५० हजार, ८० हजार र ४० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।
१४ पिक्स एक्सपेडिसन प्रालिको मुख्य प्रायोजन तथा हेली एभरेष्ट प्रालि र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सह–प्रायोजनमा भएको प्रतियोगितामा महेन्द्र ज्योतिका पासाङ शेर्पा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले ११ हजार रुपियाँ पु्रस्कार पाउनुभयो ।
यस्तै महेन्द्र ज्योतिका पेम्बा स्माइल शेर्पा उत्कृष्ट स्ट्राइकर, महेन्द्र ज्योतिका पासाङ जेम्बु शेर्पा उत्कृष्ट मिडफिल्डर, नाम्चेका निमा टासी शेर्पा उत्कृष्ट डिफेन्डर, महेन्द्र ज्योतिका आशिष मगर उत्कृष्ट गोलरक्षक, खुम्जुङ युथ क्लबका फुरा छिरिङ शेर्पा सर्वाधिक गोलकर्ता, खुम्जुङकै नेरु शेर्पा उदीयमान खेलाडी तथा महेन्द्र ज्योतिका दिपेश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बन्नुभयो ।
उत्कृष्ट सबैलाई जनही आठ हजार रुपियाँ पुरस्कार प्रदान गरियो । नयाँ वर्ष ग्याल्बो ल्होसार में त लो २१५३ को अवसरमा आयोजित प्रतियोगितामा खुम्बु युनाइटेडले अनुशासित टिम बन्दै २० हजार रुपियाँ पुरस्कार पायो ।
विजेतालाई राष्ट्रिय सभाका सदस्य सोनाम गेल्जेन शेर्पा, आयोजक महेन्द्र ज्योतिका अध्यक्ष फुर गेल्जे शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । प्रतियोगिताकोअवसरमा राष्ट्रिय महिला फुटबल टिमकी प्रीति राईलाई ५० हजार रुपियाँ सहित कदरपत्रबाट सम्मान गरिएको थियो ।
माघ २४ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक महेन्द्र ज्योतिका महासचिव पेम्बा छिरी शेर्पाले जानकारी दिनुभयो ।