केशवराज भट्ट
बैतडी, फागुन ३ गते । महाशिवरात्रिका अवसरमा बैतडीको सुर्नया गाउँपालिका–२ स्थित पाताल भुवनेश्वर धाममा श्रद्धालु भक्तजनको ठुलो भीड लागेको छ । वृद्धदेखि बालकसम्मका भक्तजन बिहानैदेखि धाम पुगेर भगवान् शिवको दर्शन तथा पूजाअर्चनामा व्यस्त देखिन्छन् ।
ऐतिहासिक, धार्मिक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण मानिने यस धाममा जिल्लाका विभिन्न स्थानीय तहका साथै छिमेकी जिल्ला तथा सीमावर्ती क्षेत्रबाट समेत भक्तजन आएका छन् । महाशिवरात्रिका दिन यहाँ दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएकाले बर्सेनि ठुलो सङ्ख्यामा श्रद्धालु उपस्थित हुने गरेका छन् ।
महाशिवरात्रिलाई लक्षित गरी विशेष पूजा, रुद्राभिषेक, भजनकीर्तन तथा दीप प्रज्वलन कार्यक्रम सञ्चालन गरिएको छ । दर्शनलाई सहज बनाउन स्वयंसेवक परिचालन गरिएको र सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइएको जनाइएको छ । प्राकृतिक रूपमा बनेको गुफाभित्र अवस्थित शिवलिङ्ग, विभिन्न देवीदेवताका आकृतिजस्ता देखिने शिलारचना तथा कहिल्यै नसुक्ने तालका कारण पाताल भुवनेश्वर धामलाई विशेष धार्मिक स्थलका रूपमा लिइन्छ ।
स्थानीय किंवदन्ती तथा पुराणमा समेत उल्लेख पाइने यस धामले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएको छ । महाशिवरात्रिका अवसरमा धाम परिसरमा मेलासमेत लागेको छ । स्थानीयवासीले अस्थायी पसल सञ्चालन गरी प्रसाद, पूजा सामग्री तथा स्थानीय उत्पादन बिक्रीवितरण गरिरहेका छन् । यसले स्थानीय अर्थतन्त्रमा समेत टेवा पुगेको छ ।
श्रद्धालुको बढ्दो उपस्थितिलाई मध्यनजर गर्दै गाउँपालिकाले सरसफाइ, खानेपानी तथा यातायात व्यवस्थापनमा ध्यान दिएको सुर्नया गाउँपालिका–२ का वडा अध्यक्ष गणेशबहादुर विष्टले जानकारी दिनुभयो । धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको सङ्गमका रूपमा रहेको पाताल भुवनेश्वर धाममा महाशिवरात्रिका दिन विशेष चहलपहल देखिएको छ ।