गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ३ गते । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा बालअधिकारका घटना हुन नदिन चनाखो रहँदै भइहालेमा सम्वन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानद्वारा राजधानीमा आयोजित “निर्वाचनमा बाल अधिकारको संरक्षण, निर्वाचन आचारसंहिता उल्लङ्घनका प्रभावकारी अनुगमन” कार्यक्रममा सहभागी व्यक्तित्वले यस अगाडिका निर्वाचनमा पनि बालअधिकारका हननका घटना हुँदै आएकोले यस पटक त्यस्तो घटना नदाहोरियोस् भन्दै सबैको ध्यानाकर्षण गराएका हुन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बाल संरक्षण तथा विकास शाखा प्रमुख दुर्गाप्रसाद चालिसेले बालअधिकारको संरक्षण राज्यको प्रमुख दायित्व नै हो, भन्नु हुँदै निर्वाचनलगायत सबै अवसरमा बालबालिका सुरक्षित बनाउन नागरिक समाज, अभिभावक, राज्यलगायत सबैको सामुहिक जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तत्कालिन बाल कल्याण समितिका पूर्व कार्यकारी निर्देशक तारक घितालले यस अगाडि भएका निर्वाचनमा बालअधिकारका हनन् भएका घटना, बालअधिकार हनन् हुन सक्ने चुनौतिका विषयहरु र समग्रमा बालअधिकारबारे चर्चा गर्नु भएको थियो । उहाँले भन्नुभयो,“बालसुलभ मन त्यसै पनि बढि जिज्ञासु हुने र अरुको लहलहैमा लागेर भिडभाड हुने ठाउँमा जाने उत्सुकताका कारण भिडन्त भईहालेमा बालबालिकाको ज्यानै जाने घटना हुन्छन् । यसप्रति अभिभावक, निर्वाचन पर्यवेक्षक र सुरक्षाकर्मीलगायत सबैले चासो राखेर बालबालिकालाई सुरक्षित राख्ने काममा सघाउनुपर्छ ।”
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेलले निर्वाचनमा बालबालिकाको सुरक्षाको सवाललाई सहयोग गर्न निर्वाचन क्षेत्रमा पर्यवेक्षणमा खटिने संस्थासँग आवद्ध पर्यवेक्षकबाट बालअधिकार संरक्षणको योजना र प्रतिवद्धता लिन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँले बालबालिकाले पनि निर्वाचनबारे जानकारी लिन पाउने हक छ, त्यसका लागि अभिभावक, बालक्लव, बाल सञ्जाल, बालअधिकार कर्मीलगायत र सरोकारवाला सबैले बालबालिकाले बुझ्ने भाषामा बुझाउँदै उनीहरुलाई चुनाव प्रचारमा, भोट हाल्ने बुथमा लाइन बस्ने, विजय जुलुसमा झण्डा बोकेर हिड्ने, हुल हुज्जत गर्न उक्साउने काममा भने संलग्न नहुन बुझाउनुपर्ने बताउनुभयो ।
चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दङ्गालले यस भएका निर्वाचनमा बालअधिकार हनन्का विषयमा ठोस कार्वाही नभएको भन्दै अब दोहोरिन सक्ने त्यस्ता घटनाको विरोध गर्न बालअधिकारकर्मी एकजुट हुनुपर्ने बताउनुभयो । सो अवसरमा पर्यवेक्षणमा खटिने सङ्घ संस्थाका प्रतिनिधीले बालअधिकारको उलङ्घनका घटना भएमा प्रतिवेदनमा उल्लेख गर्ने प्रतिवद्धता जनाएका थिए । त्यसै गरी अभियानले यस अगाडि बालअधिकारको रक्षासँग सम्बन्धित विषयलाई घोषणापत्रमा समावेश गर्न ध्यानाकर्षण गराउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई २५ बुँदे सुझाव हस्तान्तरण गरेको थियो ।