रवीन्द्र उप्रेती
बर्दिबास, फागुन ३ गते । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले महोत्तरीका विभिन्न स्थानबाट आचारसंहिता विपरितका प्रचार सामग्री जफत गर्न थालेको छ । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको अनुगमनका क्रममा कतिपय स्थानमा भनाभन र हातहालाहालसम्मको अवस्था सिर्जना भएको बताइएको छ ।
अनुगमन अधिकृतद्वय सञ्जय पोखरेल र बालकृष्ण अधिकारीका अनुसार चारै निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालय, सार्वजनिक स्थल, ई–रिक्सा, विद्युत् पोल, निजी घरका भित्तालगायत स्थानमा टाँसिएका पोष्टर, ब्यानर, तुल, फ्लेक्स बोर्ड, झण्डा लगायत सयबढी प्रचार सामग्री हटाइएको हो ।
समितिका अनुसार सबैभन्दा बढी आचारसंहिता उल्लङ्घन रास्वपाबाट भएको पाइएको छ । विशेषगरी बालेनको पुख्र्यौली घर रहेको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको एकडारामा सबैभन्दा बढी प्रचार सामग्री भेटिएको छ । सोही क्षेत्रको जावख गाँउमा सार्वजनिक सडकमा झुण्ड्याइएको करिब २० किलो तौलको ‘घण्टी’ हटाउने क्रममा स्थानीयसँग झडपसमेत परेको घटनाले चर्चा पाएको छ ।
अनुगमन अधिकृतहरुका अनुसार अहिलेसम्म करिब ९९ प्रतिशत उल्लङ्घन रास्वपाबाट भएको पाइएको छ । कांग्रेस, एमाले, नेकपा लगायतका दलहरू हालसम्म आचारसंहिता पालनामा सकारात्मक र संयमित देखिएका छन् । अन्य स्वतन्त्र उम्मेदवारबाट फाट्टफुट्ट उल्लंघन भएको देखिएको छ ।
क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी उल्लंघन निर्वाचन क्षेत्र नम्बर ३ मा त्यसपछि ४ र २ मा देखिएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा भने उल्लंघन नगण्य रहेको अनुगमन समितिको भनाइ छ ।
सम्बन्धित उम्मेदवारलाई जानकारी गराउँदा ‘आफूले नभई जनताले गरेको’ भन्ने ओठे जवाफ आउने गरेको अनुगमन समितिले जनाएको छ ।
अधिकारीले भन्नुभयो ‘रास्वपालाई छाडी दिने हो भने महोत्तरीमा अनुगमन नगरे पनि हुन्छ । आज हटाएर गयो, पुनः अर्को झण्डा वा तुल टाँग्ने प्रवृत्ति देखिएको छ । उनीहरुकै देखासिकी अरुले पनि उल्लङ्घन गर्न थालेका छन् ।’
बर्दीबासमा बालेन आउने कार्यक्रममा रास्वपा कार्यकर्ताले ड्रोन उडाएको घटनाबारे सूचना प्राप्त भए पनि प्रमाणको अभावमा कारवाही गर्न नसकिएको अनुगमन अधिकृत पोखरेलले बताउनुभयो ।
यसअघि माघ १४ गते जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले चारवटै निर्वाचन क्षेत्रमा समन्वयात्मक अन्तरक्रिया गोष्ठी आयोजना गरी राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालालाई आचारसंहिताबारे सचेत गराएको थियो ।
सहभागीहरूले सर्वदलीय सहमतिमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको सम्मान र पालना गर्ने प्रतिबद्धता जनाएका थिए । प्रतिवद्धता विपरित औपचारिक प्रचारप्रसार सुरु हुनु अगावै सार्वजनिक स्थलमा प्रचार सामग्री राख्न थालेपछि अनुगमन टोलीले कडाइ गर्नु परेको जनाएको छ ।
निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद ४ को १३ (ज) र (ढ) अनुसार उम्मेदवार वा दलले आफ्नै कार्यालय बाहेक निजी घरजग्गा, सार्वजनिक स्थल, सार्वजनिक पोल लगायतका स्थानमा दलको झण्डा, चुनाव चिन्ह, डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था छ ।
यस विपरितका गतिविधि बढ्दै गएकाले अनुगमनलाई थप कडाइका साथ अघि बढाउने समितिले जनाएको छ ।