विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन ३ गते । सप्तरीका विभिन्न शिवालयमा आइतबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । महाशिवरात्रिका अवसरमा पूजापाठ गर्न हजारौँको सङ्ख्यामा भक्तजन जिल्लास्थित विभिन्न शिवमन्दिर पुगेका हुन् ।
सप्तरीका प्रसिद्ध शिवालयहरू राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर, शम्भुनाथको शम्भुनाथ मन्दिर, धरमपुरस्थित धर्मेश्वर महादेव मन्दिर, भेडियामठको महादेव मन्दिर र महादेवाको अङ्कुरी महादेव मन्दिरलगायतमा बिहानैदेखि शिवभक्तहरू लामबद्ध भई पूजाअर्चना गरेका छन् ।
फागुन कृष्णपक्षको चतुर्दशी तिथिमा पर्ने महाशिवरात्रिमा उपवास, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमाको कीर्तन गरी मनाउने धार्मिक चलन रहेको हरिनन्देश्वर महादेव मन्दिर, राजविराजका पुजारी महेश्वर भारतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सप्तकोसी तथा अन्य विभिन्न जलाशयबाट पवित्र जल ल्याएर एक हजारभन्दा बढी काँवरिया भक्तजनले भगवान् शिवलाई जल अर्पण गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कतिपय उम्मेदवारले समेत बिहानै विशेष पूजापाठमा संलग्न भई आशीर्वाद ग्रहण गरेको पुजारी भारतीले सुनाउनुभयो । मन्दिर आएका उम्मेदवारहरूले पारिवारिक सुखशान्तिका साथै निर्वाचनमा विजयको आशीर्वाद थापेका थिए ।
पर्वको राजा मानिने महाशिवरात्रिबाट भोग र मोक्ष दुवैको प्राप्ति हुने 'शिवमहापुराण' को कोटीरुद्र संहितामा उल्लेख छ । शिवरात्रिका दिन फूलमाला, बेलपत्र, धतुरो, पञ्चामृत र गङ्गाजल आदिले शिवको पूजा गर्नाले विशेष पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।