काठमाडौँ, फागुन ३ गते । सुरुवातमा खराब ब्याटिङको सामना गरेको नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेटमा टेस्ट टोली वेस्ट इन्डिजलाई जितका लागि एक सय ३४ रनको सामान्य लक्ष्य दिएको छ ।
मुम्बईस्थित वनखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ्सको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३३ रन बनायो ।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्नुभयो । सर्वाधिक ५८ रन बनाउनुभएका उहाँले तीन चौका र तीन नै छक्का हान्नुभयो ।
यससँगै दीपेन्द्रसिंह टी–२० विश्वकपमा अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बन्नुभएको छ । यसअघि सन् २०१४ को विश्वकपमा सुवास खकुरेलले अर्धशतक बनाउनुभएको थियो ।
यसअघि पावर प्लेमै तीन विकेट गुमाएको नेपालका ओपनर कुशल भुर्तेल एक रनमा आउट हुनुभयो । यस्तै आशिफ शेख ११ रन जोड्दै पेभेलियन फर्कनुभयो ।
कप्तान रोहित पौडेल पाँच र आरिफ शेह दुई रन जोड्दै बाहिरिएपछि नेपालको आशा दीपेन्द्रसिंह र लोकेश बममा रहेको थियो । लोकेश १३ रनमा क्याच आउट हुनुभयो । त्यसपछि गुल्शन झा ११ रन बनाउनुभयो ।
सोमपाल कामीले अविजित २६ रन बनाउनुभयो । उहाँले १५ बलमा चार चौका हान्नुभयो । सोमपाल नेपालका लागि लगातार तेस्रो विश्वकप खेल्ने एक्लो खेलाडी समेत बन्नुभएको छ । करण केसी एक रनमा क्याच आउट हुनुभयो ।
बलिङमा वेस्ट इन्डिजका जासोन अहोल्डरले चार विकेट लिनुभयो । उहाँले पूरा चार ओभर बलिङ गर्दैै २७ रन खर्चिनुभयो । यस्तै म्याथ्यु फर्ड, अकिल हुसेन, समर जोसेफ र रोस्टोन चेसले एक एक विकेट लिनुभयो ।