• ३ फागुन २०८२, आइतबार

शिवरात्रीको अवसरमा शिवालयको शिलान्यास

blog

शिवालयको शिलान्यास गरिदै ।

इमान सिं राना

रामपुर (पाल्पा), फागुन ३ गते । रामपुर नगरपालिका –५, बेझाँडस्थित भत्किएको पुरानो शिवालय मन्दिर निर्माण सुरु भएको छ । २०८१ असोजमा वर्षाले भत्किएको ४२ वर्ष मन्दिरको शिवालय आइतबार महाशिवरात्री अवसरमा शिलान्यास गरिएको हो । 

रामपुर नगरपालिकाले कार्यालय परिसरमा रहेको शिवालय भत्किएपछि राधाकृष्ण मन्दिरको नजिकै मन्दिर निर्माण थालेको हो । पुरानो शिवालय मन्दिर भत्किएपछि सरोकारवालासँग छलफल पश्चात सुझावको आधारमा नगरपालिकाले साविकको मन्दिर भएको स्थानभन्दा उत्तरतर्फको खाली स्थानमा मन्दिर निर्माण सुरु गरेको हो । 

वैदिक विधिपूर्वक मन्दिरको शिलान्यास गर्नुहुँदै रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले पुरानो शिवालय मन्दिर निर्माणको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन निर्माण थालेको बताउनुभयो । सरोकारवालाको रायअनुसार उपयुक्त स्थानको छनौट गरेर शिवालय मन्दिर निर्माण गर्न लागिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रा मौलिक संस्कार र संस्कृतिसँग जोडिएका धरोहरहरुको संरक्षणका लागि नगरपालिका प्रतिवद्ध रहेको छ ।’ भविष्यमा मन्दिरलाई कुनै असर नपरोस् भन्ने ध्येयका साथ साविकको स्थानभन्दा केही पर मन्दिर निर्माण गर्न लागिएको जानकारी दिनुभयो । शिव मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष दयाराम गैरेले नगरपालिकाबाट विनियोजन भएको १६ लाख र जनश्रमदान २ लाख ८३ हजार ९०९ रुपियाँ गरी १८ लाख ८३ हजार ९०९ रुपियाँ लागतमा मन्दिर निर्माण हुने बताउनुभयो । 

हरेक वर्ष शिवरात्रीमा भक्तजनहरुको विशेष उपस्थिति रहँदैआएको शिवालय मन्दिर भत्किए पनि धार्मिक अस्तित्व जोगाइ राख्न आइतबार पनि पूजालाई निरन्तरता दिएको थियो । साविक मन्दिर रहेको स्थानमा रुद्री पूजा, हवन पूजा लगायतका काम भएको शिव मन्दिर निर्माण उपभोक्ता समितिका सचिव सूर्यप्रसाद श्रेष्ठले बताउनुभयो । 

वि.सं. २०३९ सालमा निर्माण सुरु गरिएको मन्दिरमा २०४२ सालदेखि पूजा हुँदैआएको थियो । त्यस पश्चात रामपुर होटल व्यवसायी संघले २०६२ देखि जिर्ण उद्धार गरी थप संरचनाहरु निर्माण गरेको थियो । २०७२ को भुकम्पले चर्किएर चुहिने भएको मन्दिर वर्षाले भत्किएको थियो । ईट्टा र माटोले बनेको मन्दिर भत्किदा मन्दिरभित्र रहेको पञ्चमुखी शिवलिङ्ग, मूर्तिसहितका अन्य संरचनामा पनि क्षति भएको थियो ।