काठमाडौँ, फागुन ३ गते । आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले अहिले टेस्ट टोली वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थिजत वनखेडे मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिले फिल्डिङ रोजेको छ । टस हारेको नेपाल पहिलो ब्याटिङ गर्दैछ ।
अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाल आजको खेलमा जित निकाल्ने लक्ष्यमा छ । यस्तै अघिल्ला दुई खेलमा लगातार जित निकाल्दै चार अङ्कसहित शीर्षस्थानमा रहेको वेस्ट इन्डिज उत्कृष्ट लयमा छ । नेपालविरुद्धको खेलमा पनि वेस्ट इन्डिज आफ्नो लय कायम राख्न चाहन्छ ।
नेपाललाई भने वेस्ट इन्डिजको लयमा ब्रेक लगाउँदै क्रिकेट समर्थकको साथ बटुल्ने अवसर छ । दुई पटकको विश्वकप च्याम्पियन वेस्ट इन्डिज आफैमा अनुभवी टोली हो ।
तर क्रिकेटमा कहिल काँही नतिजा बदलिएको इतिहास पनि छ । गत असोजमा मात्र नेपालले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० सिरिज २–१ ले जितेको थियो ।
हाल तीन खेलको समाप्तिसँगै समूहमा इङ्ल्यान्ड चार अङ्कसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र इटालीले दुई दुई अङ्क बनाएको छ । समूहमा अङ्कको खाता खोल्न नसक्ने टोली नेपाल मात्र हो ।
आज नेपालले वेस्ट इन्डिजविरुद्ध ललित राजवंशीको स्थानमा सोमपाल कामीलाई मैदानमा उतारेको छ । सोमपाल लगातार तेस्रो पटक विश्वकप टोलीमा पर्ने एक्लो खेलाडी हुनुहुन्छ । नेपालले वेस्ट इन्डिजपछि समूह चरणको अन्तिम खेल फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ ।
नेपालले समग्रा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।