बुटवल समाचारदाता
बुटवल, फागुन ३ गते । हरेक चुनावमा उम्मेदवारको चुनावी मुद्दा बन्दै आएको झुम्सा खानेपानी आयोजना तीन दशक हुँदा पनि अझै पूरा भएको छैन । २०५२ सालमा सुरु भएको झुम्सा खानेपानी आयोजना २०५६ सालदेखि हरेक पटक चुनावी मुद्दा हुने गरेको छ तर चुनाव सकिएपछि आयोजना पूरा गर्ने विषयमा भने बेवास्ता हुँदा बुटवलवासीको झुम्साको शुद्ध पानी खाने सपना कहिले पूरा हुने होला भन्ने कुरा अन्योल हुँदै आएको छ ।
झुम्सा खानेपानी आयोजनाको निर्माण सुरु भएपछि २०५६ सालमा सङ्घीय, २०६४ सालमा पहिलो संविधान सभा, २०७० सालमा दोस्रो संविधान सभा २०७४ मा सङ्घीय र २०७९ मा पनि सङ्घीय संसद्को निर्वाचन भयो । यी सबै चुनावबाट धेरै पटक बुटवलबाट निर्वाचित उम्मेदवारले मन्त्री बन्ने अवसर पाए । प्रदेश सरकारमा धेरै पटक मन्त्री फेरबदल भए । स्थानीय निर्वाचन पनि धेरै पटक भयो तर झुम्सा खानेपानी आयोजना अहिलेसम्म पनि सम्पन्न हुन सकेको छैन ।
लामो समयदेखि यो आयोजना सम्पन्न नहुँदा बुटवलका बासिन्दाले हरेक वर्ष गर्मीयाम सुरु हुनासाथ खानेपानीको अभाव खप्दै आएका छन् । पाल्पाको सिस्नेखोलाबाट बुटवलवासीलाई पानी वितरण गर्न यो आयोजना सुरु भएको हो । त्यसबिचमा तीन पटक सङ्घीय र दुई पटक संविधान सभाको निर्वाचन सम्पन्न भएको छ । ती हरेक चुनावमा बुटवलवासीलाई झुम्सा खानेपानी आयोजनाको आश्वासन बाँडिन्छ तर चुनाव सकिएपछि भने मतदातासंग गरेको वाचा बिर्सने गरिएको स्थानीयको गुनासो छ ।
खानेपानी संस्थान बुटवलका अनुसार बुटवलमा दैनिक तीन करोड ८० लाख लिटर पानीको माग छ । हाल संस्थानले ६० प्रतिशत पानी तिनाउखोलाबाट पम्पले तानेर वितरण गर्दै आएको छ । त्यसबाहेक २२ वटा बोरिङमार्फत पानी वितरण गरिएको छ ।
फागुन २१ गते हुने निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट नेकपा (एमाले) का तर्फबाट उम्मेदवारी विष्णु पौडेलले झुम्साको खानेपानी बुटवल ल्याउन धेरै काम सम्पन्न भइसकेको र केही काम बाँकी रहेकाले यो छिटै पूरा हुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “बाँध बनाउने काम सम्पन्न भएको छ, बुटवलसम्मै पाइप बिछ्याउने काम पनि भइसकेको छ, अब खानेपानी संस्थानले केही खोलामा ट्रस्ट ब्रिज बनाएपछि काम सम्पन्न हुन्छ । त्यसका लागि अझै केही समय लाग्छ ।” नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ बाट उम्मेदवार बनेका चुन्नप्रसाद पौडेलले आफू विजयी भएमा खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर आयोजना पूरा गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । हाल पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको गोरबन्दीझारबाट दैनिक तीन करोड २० लाख लिटर पानी बुटवल ल्याउने योजनासहित आर्थिक वर्ष २०६४/६५ मा झुम्सा खानेपानी आयोजनालाई परिमार्जन गरिएको थियो ।
बुटवलमा मात्रै दैनिक तीन करोड ८० लाख लिटर खानेपानीको माग छ । माग र आपूर्तिको अवस्थालाई हेर्दा अहिले पनि बुटवलमा दैनिक करिब एक करोड लिटर खानेपानी अभाव छ । त्यसमाथि बुटवलमा खानेपानीको ६० प्रतिशत माग धान्दै आएको चिडियाखोलाको तिनाउखोलाको मुहानबाट वर्षायाममा धमिलो पानी आउँदा बुटवलमा धमिलो पानी पिउनुपर्ने बाध्यता छ । खानेपानी डिभिजनले खोलाबाट पम्पले तानेको पानीलाई गोलपार्क ल्याई पानी शुद्धीकरण गरेर वितरण गरे पनि उपभोक्ताको धारामा वर्षायाममा धमिलो पानी पुग्ने गरेको छ ।