• ३ फागुन २०८२, आइतबार

लालपुर्जाविहीन गाउँ : जग्गा दिलाउनेलाई अमूल्य मत

blog

नारद कोहार

तौलिहवा (कपिलवस्तु), फागुन ३ गते । चार दशकदेखि बसोबास गर्दै आएका यहाँको एउटा बस्तीका बासिन्दाले चुनावका बेला मात्र राजनीतिक दलका नेताले आफ्नो समस्याबारे सोधपुछ गर्ने गरेको बताएका छन् । बुद्धभूमि नगरपालिका–१० स्थित धनकौलीको ढडीहवागाउँका लालपुर्जाविहीन परिवारले यस्तो गुनासो गरेका छन् । यो गाउँका सबै परिवार अझै पनि लालपुर्जाविहीन रहेका छन् । २०३६ सालदेखि बस्दै आएका ३५ परिवारले पटक पटक निर्वाचनमा मतदान गरे पनि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको गुनासो गरेका छन् ।

गाउँका अगुवा ६१ वर्षीय रत्तीराम थारूले पञ्चायतकालदेखि नै लालपुर्जा पाइने आसमा मतदान गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै वर्ष बिते, धेरै नेतालाई चुनावमा मत दियौँ तर हाम्रो समस्या अहिलेसम्म पनि समाधान भएको छैन ।” उहाँले भन्नुभयो, “अब भने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र मत दिने निर्णय गरेका छौँ ।”

ढडीहवागाउँमा यस पटक करिब दुई सयभन्दा बढी मतदाता रहेका छन् । प्रत्येक निर्वाचनमा विभिन्न दलका उम्मेदवारले लालपुर्जा दिलाउने आश्वासन दिने गरे पनि निर्वाचनपछि फर्केर नआउने गरेको स्थानीयको गुनासो छ । अर्का ७१ वर्षीय दुबरी थारूले लालपुर्जा प्राप्तिका लागि पटक पटक सम्बन्धित निकाय धाउँदा पनि लालपुर्जा पाउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “लालपुर्जाका लागि धाउँदा धाउँदा खुट्टा नै थाकिसक्यो तर समाधान भएन । सास रहेसम्म आस भने बाँकी नै छ ।” सदरमुकाम तौलिहवानजिक रामघाटपारि रहेको उक्त गाउँमा ढलान गरिएको सडक र आधारभूत विद्यालय जस्ता केही विकासका काम भए पनि अधिकांश स्थानीयको जीविकोपार्जन ज्याला मजदुरी र अधियाँ खेतीमा निर्भर रहेको छ । गाउँमा सिँचाइ र खानेपानीको पर्याप्त सुविधा छैन । 

करिब १८ वर्षअघि जडान गरिएका दुई वटा ह्यान्ड पम्पबाटै गाउँलेले खानेपानीको जोहो गर्दै आएका छन् । वर्षायाममा रामघाट क्षेत्रबाट आउने बाढीले गाउँमा क्षति पु¥याउने गरेको स्थानीयले बताएका छन् । स्थानीय पर्सी थारूले लालपुर्जा नहुँदा बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन नसक्ने, व्यवसाय सुरु गर्न कठिनाइ हुने र युवा बेरोजगार बस्न बाध्य भएको बताउनुभयो ।

स्थानीयका अनुसार पटक पटक नापी भएर कित्ता नम्बरसमेत दिइए पनि सरकार परिवर्तन, आयोग गठन र विघटन जस्ता कारणले लालपुर्जा वितरण प्रक्रिया पूरा हुन सकेको छैन । यहाँका बासिन्दाले २०३६ सालदेखि सरकारी कार्यालयबाट प्राप्त कागजात र तिरो तिरेको रसिद सुरक्षित राखेको बताएका छन् । 

ढडीहवागाउँका बासिन्दाले २०३९, २०४३, २०४९ र २०५४ सालका स्थानीय निर्वाचन तथा सातभन्दा बढी संसदीय निर्वाचनमा भाग लिए पनि लालपुर्जा नपाएको भन्दै यस पटक भने स्पष्ट लिखित प्रतिबद्धताबिना मतदान नगर्ने अडान व्यक्त गरेका छन् ।