• १६ चैत २०८०, शुक्रबार

मगर समुदायले मनाए साउने सकराई (फोटो फिचर)

blog

काठमाडौं, साउन १ गते । मगर समुदायले साउने सकराई र उधेलि पर्व मनाएका छन् । अठार मगरात मगर प्रतिस्थान लगायत विभिन्न ७ वटा संघ सस्थाको आयोजनामा काठमाडौंको थानकोटको त्रिभुवन  पार्कमा आइतबार साउने सकराती पर्व मनाएका हुन् ।

पूर्वसभामुख ओनसरी घर्तीमगरले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । आफ्नो समुदायको परम्परागत मौलिक संस्कृति र चाड पर्वको जर्गेना गर्ने उद्देश्यले हरेक वर्ष साउने सकराती पर्व मनाउँदै आएको संस्कृतिविद् बोमकुमारी बुढामगरले जानकारी दिनुभयो । 


मगर समुदायले साउन १ गते मौलिक पर्व राके सकरातीमा लुतो फाल्ने र आगो पानी भूमि पूजा गर्ने, दमाहा बाजा बन्द गर्ने गर्दछन्। सकरातीको दिनदेखि नै मादल बाजा फुकाउने र नयाँ नाच पैस्यारु, सिङगारु, सरङ्या नाचको आरम्भ गर्ने परम्परा रहेको छ ।

साउन १ मा असारे वर्षात तथा हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास मगर समाजमा रहिआएको छ। कार्यक्रमको अवसरमा सरङङ्या, पैस्यारु, भुम्या, जोरा नाच, रोटी अचार प्रतियोगिता, लोक दोहरी, लुतो फाल्ने लगायतको कार्यक्रम गरिएको थियोे ।





Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।