अर्घाखाँची समाचारदाता
अर्घाखाँची, फागुन २ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबिच परस्पर सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका अन्तर्गत रहेको आदर्श आधारभूत विद्यालयको हीरक महोत्सव–२०८२ को शुव्रmबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सानै उमेरदेखि बालबालिकालाई अनुशासित बनाउन नैतिक शिक्षालाई अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार विद्यार्थीलाई दिइएको शिक्षासँगै त्यसको नतिजा कस्तो आइरहेको छ भनेर ध्यान दिन जरुरी छ । उहाँले भन्नुभयो, “बोर्डिङको फेसन बढ्दै गएको छ तर तपाईंहरूले मेहनत गर्नुभयो भने बोर्डिङभन्दा राम्रो शिक्षा दिन सक्नुहुन्छ । यो विद्यालयलाई नमुनायोग्य बनाउन सकिन्छ ।”
उहाँले आफ्ना छोराछोरीको अवस्थाबारे जानकारी राख्न पनि अनुरोध गर्नुभयो । मुलुकमा अराजकता बढ्दै गइरहेको भन्दै उहाँले सानैदेखि बालबालिकालाई नैतिकवान् र अनुशासित बनाउन आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले बच्चालाई सानैदेखि मर्यादित र अनुशासित बनायौँ, बालबालिकालाई घर र समाज बुझायौँ भने मात्र त्यो बच्चाको भविष्य उज्ज्वल हुने धारणा राख्नुभयो ।
गाउँमा विकास पुगेकाले जिल्लाबाहिर रहेकालाई अब गाउँ फर्कन उहाँले आह्वान गर्नुभयो । विकासनिर्माणको दृष्टिले अर्घाखाँचीलाई अन्य पहाडी जिल्लाको तुलनामा उदाहरण दिन लायक जिल्लाका रूपमा विकास गर्दै लगिएको उल्लेख गर्दै उहाँले सबै कच्ची बाटा पक्की बन्दै गएको, खानेपानीका धारा पुगेको र विद्यालय तथा स्वास्थ्य चौकी स्थापना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिजो तपाईंहरूले नै गाउँमा विकास ल्याउनु पर्छ, बाटो बनाउनु पर्छ, विद्यालय खोल्नु पर्छ, स्वास्थ्य चौकी खोल्नु पर्छ भन्नुभयो । अहिले ती आवश्यकता पूरा हुँदै गइरहेका छन् तर विडम्बना ! गाउँ भने खाली हुँदै गएका छन् । घरका ढोकामा ताल्चा झुन्डिएका छन् । छाना चुहिन थालेका छन् र भत्किन थालेका छन् । अब सबै गाउँघरतिर फर्किनु पर्छ ।”