• २ फागुन २०८२, शनिबार

बस्ती व्यवस्थापन गर्नेलाई अमूल्य मत

blog

कृष्णसार संरक्षण क्षेत्रभित्र रहेको बस्ती । तस्बिर : यज्ञप्रसाद सापकोटा

गुलरिया समाचारदाता

गुलरिया (बर्दिया), फागुन २ गते  । बर्सौंदेखि बस्ती व्यवस्थापन नभएर पीडित बनेका बर्दियाको कृष्णसार संरक्षण क्षेत्रका बासिन्दाले आफ्ना समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । विसं २०२८ देखि कृष्णसार संरक्षण क्षेत्रभित्र बसोबास गर्दै आएका कृष्णसारपीडित किसानले आफ्नो समस्या समाधानका लागि पहल गर्ने उम्मेदवारलाई मात्र मतदान गर्ने बताएका हुन् । उनीहरूले संरक्षण क्षेत्रभित्र मत माग्न आउने नेतासँग बस्ती व्यवस्थापन र कृष्णसार संरक्षण क्षेत्र विकासका बारेमा के एजेन्डा छ भनेर प्रश्न गर्ने गरेका छन् । 

गुलरिया नगरपालिका–२, पटाहाका कृष्णसारपीडित किसान पूर्णबहादुर खत्रीले भन्नुभयो, “संरक्षण क्षेत्रभित्रको बस्ती व्यवस्थानको प्रतिबद्धता जनाउनेलाई मत दिन्छौँ । २०४६ सालदेखि धेरै दल र नेतालाई जिताएर पठाए पनि अहिलेसम्म कसैले पनि हाम्रो पीडामा मलम लगाउने काम गर्न सकेनन् । यो पटक बस्ती व्यवस्थापनका लागि लिखित सहमति गर्ने उम्मेदवारलाई मात्र मत दिन्छौँ ।”

कृष्णसारपीडित टोल विकास संस्थाका अध्यक्ष भेषराज भुसालले सरकारले चासो नलिँदा जनता पीडित भइरहेका र कृष्णसार पनि सङ्कटमा पर्दै गइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पटक पटक मन्त्रालय र विभागमा समेत बस्ती व्यवस्थापन र संरक्षण क्षेत्रको विकासका लागि अनुरोध गर्न पुग्यौँ तर समस्या समाधान भएन ।” अध्यक्ष भुसालले यस पटक भोट माग्न आउने उम्मेदवारसँग लिखित प्रतिबद्धता माग्ने बताउनुभयो । 

विसं २०५१ मा कृष्णसार संरक्षण क्षेत्रभित्र बसोबास गरेका जोताहा किसानलाई स्थानान्तरण गर्ने योजना आएको थियो । नम्बरी जग्गामा बस्नेलाई रकम दिएर उठाए पनि ऐलानीमा बस्नेलाई भने अलपत्र छोडेको कृष्णसारपीडित किसान महेन्द्रसिंह महताराले बताउनुभयो । उहाँले भन्नुभयो, “२०५१ सालदेखि हालसम्म पटक पटक आवाज उठाउँदासमेत कसैले सुनेको छैन ।”

हरेक पटकको निर्वाचनमा बर्दिया–१ का उम्मेदवारको घोषणापत्रमा समावेश हुने गरे पनि बस्ती व्यवस्थापन भने हुन सकेको छैन । उम्मेदवारले हरेक पटक प्रतिबद्धता जनाए पनि कृष्णसार संरक्षण क्षेत्रको बस्ती व्यवस्थापन सधैँ ओझेलमा पर्ने गरेको गुलरिया नगरपालिका–२ का वडाध्यक्ष टङ्कप्रसाद अधिकारीले बताउनुभयो । 

कृष्णसार संरक्षणको सुरुवात हुनुभन्दा पहिलेदेखि नै जोताहा किसान खाली जग्गामा बसोबास गर्दै आएका थिए । २०५१ सालमा २४५ बिघा नम्बरी जग्गाको मुआब्जा दिएर सरकारले बस्ती उठाएको थियो । ऐलानी जग्गामा बसोबास गर्ने घरपरिवारलाई अन्यत्र स्थानान्तरण गर्ने भन्दै सोही ठाउँमा राखिएको थियो । त्यतिबेलादेखि नै कृष्णसार संरक्षण क्षेत्रमा जोताहा किसान बसिरहेका छन् । हाल संरक्षण क्षेत्रभित्र १४२ घरपरिवार बसोबास गरिरहेका छन् । 

कृष्णसार संरक्षण क्षेत्रका सूचना अधिकारी रामु केसीले संरक्षण क्षेत्रभित्रको बस्ती नै कृष्णसार संरक्षणमा सबैभन्दा ठुलो चुनौती रहेको बताउनुभयो । उहाँले बस्ती व्यवस्थापन नहुँदासम्म तारबार गर्न समस्या भएको बताउँदै खुला भएका कारण जङ्गली जनावर र भुस्याहा कुकुरबाट कृष्णसार जोगाउन मुस्किल भएको बताउनुभयो ।  

यस क्षेत्रमा २०३२ सालदेखि लोपोन्मुख कृष्णसार फेला परेको थियो । २०६५ सालमा यस क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरिएको थियो । ७०८ बिघा क्षेत्रफलमा फैलिएको कृष्णसार संरक्षण क्षेत्रमा हाल २४० वटा कृष्णसार छन् ।