• २ फागुन २०८२, शनिबार

किसान र श्रमजीवीलाई छोएन चुनावले

blog

बाँसका सामग्री बनाउँदै मोरङको रङ्गेली–९, शान्ति चोकका ४५ वर्षीय रामप्रसाद मर्डी । तस्बिर : हरिप्रसाद कोइराला

उर्लाबारी समाचारदाता

उर्लाबारी, फागुन २ गते  । दलका उम्मेदवार, नेता कार्यकर्तालाई मात्र होइन, स्वतन्त्र उम्मेदवार, छापाखाना सञ्चालक, मिडिया, होटेल, साना सवारी सञ्चालकलाई पनि आसन्न प्रतिनिधि सभाको निर्वाचनले व्यस्त बनाएको छ । 

प्रतिनिधि सभाको निर्वाचन आउन बिस दिन बाँकी छँदा उम्मेदवार घरदैलोमा व्यस्त छन् । छापाखानालाई घोषणापत्र छपाउन भ्याइनभ्याइ छ । मिडिया समाचार र विश्लेषणको भ्युज जोडिरहेका छन् । यही मौकामा आफ्ना सवारी साधन भाडामा लगाउने मोलमोलाइ सवारी साधनका धनी पनि व्यस्त छन् । होटेलको व्यापार व्यवसाय बढेको छ तर किसान र तल्लो तहमा श्रम गरिखानेलाई चुनावले पटक्कै छोएको छैन । 

मोरङको रङ्गेली–९, शान्ति चोकका ४५ वर्षीय रामप्रसाद मर्डी कानेपोखरी–रङ्गेली सडक किनारको पूर्वपट्टि बसेर दिनभर बाँसका सामग्री बनाउनुहुन्छ । डेढ सय रुपियाँमा किनेको एक घना बाँसबाट छ÷सात वटा ढकनी बनाउनुहुन्छ । एउटा ढकनी व्यापारीलाई दुई सय रुपियाँमा र सिधै आउने ग्राहकलाई अढाई सयमा बिव्रmी गर्नुहुन्छ । रामप्रसादलाई पत्नी र हुर्किएका छोराछोरीले काममा भरपुर मद्दत गर्नुहुन्छ । उहाँले भन्नुभयो, “बाह्रै महिना बाँसको काम चलिरहन्छ । असार÷भदौमा अलि मन्दी हुन्छ । मौसम अनुसार नाङ्लो, डोको, खुँकी, मान्द्रो सबै थोक बनाउन सिपालु रामप्रसाद १५ वर्षदेखि सोही स्थानमा बसिरहनुभएको छ । सडक किनारको ऐलानी जग्गामा घामपानी छल्ने सानो कटेरो हालेर बस्नुभएका रामप्रसादको सबै सम्पत्ति भनेको हातको सिप मात्रै हो । खर्च कटाएर दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय रुपियाँ बचाउँदै आएका रामप्रसाद छोराछोरी पढाउने, स्वास्थ्य उपचार, चाडबाड मान्ने खर्च सबै यसैबाट पु¥याउने बताउनुहुन्छ ।” 

उहाँलाई चुनाव लागेको छैन । पाँच पुस्तादेखि विभिन्न स्थान सर्दै सडक किनारमा बास हाल्न पुग्नुभएका उहाँ चरम निराशा व्यक्त गर्दै भन्नुहुन्छ, “नेताहरू आउँछन्, नमस्कार गर्छन् । घरजग्गाको प्रबन्ध गरिदिने वाचा गर्छन् । चुनाव जितेर गएपछि कोही फर्किंदैनन् ।”

रामप्रसाद मात्र होइन्, उहाँसँगै बाँसका सामग्री बनाउने नाताले ज्वाइँ पर्ने नेपाल हेमरमलाई पनि चुनावप्रति कुनै चासो छैन् । चुनावप्रति धारणा राख्दै उहाँ भन्नुहुन्छ, “गरिबलाई केही हुँदैन । चुनाव धनीका लागि मात्रै हो ।” 

नेपाल हेमरम बाँसका सामग्री बनाएर दैनिक एक हजार कमाइ गर्नुहुन्छ । सोही कमाइले घरखर्च पु¥याउनु पर्छ । छ जनाको परिवार पाल्न धौ धौ पर्छ तर चुनावले गरिबलाई केही नदिने उहाँको भनाइ छ । 

त्यस्तै खेतमा काम गरिरहेका किसानले पनि चुनावसँग कुनै अपेक्षा नरहेको प्रतिव्रिmया दिनुहुन्छ । कानेपोखरी–३ मा तोरी उखेलिरहेका जर्मेन मुर्मुले भन्नुभयो, “कहिलेकाहीँ नेताहरू आएर खेतमा तोरी उखेल्न सघाउँछन् । अघिल्लो चुनावमा धान काट्न सघाएका थिए । एकछिन सघाएर किसानलाई केही राहत हुन्न । उहाँले समयमा मल, बिउ, विषादी र सिँचाइका लागि राम्रो व्यवस्था हुने भए चुनावले आशा जगाउँथ्यो ।” 

श्रम गर्ने मध्यम वर्गीय किसान, खोला किनारमा श्रम गर्ने मजदुर र दैनिक रोजगारी गर्ने श्रमजीवीलाई चुनावले कुनै प्रभाव पारेको छैन । कानेपोखरी–४ मा आफ्नै काम गरिरहेका एक किसानले नाम उल्लेख नगर्ने भन्दै भन्नुभयो, “मैले बाबुको तिथि गरे जस्तो लाग्न थाल्यो चुनाव, आवधिक चुनाव पाँच÷पाँच वर्षमा आउनुपर्ने हो तर बर्सेनि जस्तो घोषणा हुन्छ । कहिले हुन्छ, कहिले हुन्न । सम्झिँदै दिक्दार लाग्न थाल्यो ।”