• १ फागुन २०८२, शुक्रबार

त्रिसट्ठी दिनमा सकियो ‘झिँगेदाउ–२’ को छायाङ्कन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १ गते । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘झिँगेदाउ–२’ को छायाङ्कन ६३ दिनमा सकिएको छ । चितवनमा अन्तिम दृश्य खिच्दै चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको निर्माण टिमले जानकारी दिएको हो । निर्देशक देउजाका अनुसार ६० दिनको सेड्युलमा गत मङ्सिरमा छायाङ्कन सुरु गरेको निर्माण टिमले निर्धारित समयभन्दा तीन दिन बढी समय लगाएको छ । पहिलो भागको सफलता मर्न नदिन र दोस्रो भागलाई अझ त्योभन्दा उत्कृष्ट बनाउन कुनै सम्झौता नगरी खिचेकाले एउटा राम्रो चलचित्र दर्शकले हेर्न पाउने विश्वास निर्देशक देउजाले गर्नुभयो ।  

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, हिउँवाला गौतम, विजय देउजा, आशा भुसाल, अभयराज बराल, आशिष पुरुषलगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक देउजाकै कथा रहेको चलचित्रको पटकथा परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेले लेख्नुभएको हो । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको सङ्गीत, मित्र डी गुरुङको सम्पादन रहेको चलचित्र ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर र चन्द्र भण्डारी मुख्य सहायक निर्देशक अनि पासाङ टी शेर्पा र मानिक पाख्रिन कला निर्देशक हुनुहुन्छ । विष्णु घिमिरे ‘कल्पित’ को छायाङ्कन रहने चलचित्रको निर्माता सुलभप्रतीक देउजा र समीक्षा देउजा रहनुभएको छ ।