• १ फागुन २०८२, शुक्रबार

एक लाख चवालिस हजार क्विन्टल धान खरिद

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन १ गते । खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न ठाउँमा रहेका १२ कार्यालयबाट एक लाख ४४ हजार क्विन्टल धान खरिद गरेको जनाएको छ । गत कात्तिक ११ देखि धनगढीबाट धान खरिद गर्न सुरु गरेको कम्पनीले हालसम्म विभिन्न ११ वटा केन्द्रबाट उक्त परिमाणमा धान खरिद गरेको हो । 

कम्पनीका खरिद शाखा प्रमुख आनन्द पौडेलले धान खरिदको निर्धारित कोटा पूरा भएपछि ११ केन्द्रबाट धान खरिद कार्य स्थगन गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार धनगढी, महेन्द्रनगर, भैरहवा, नेपालगन्ज, तुलसीपुर, राजापुर, बिर्तामोड, विराटनगर, पोखराका केन्द्रबाट कोटा अनुसार र कतिपयमा कोटाभन्दा बढी धान खरिद भइसकेकाले हाललाई स्थगन गरिएको हो । उहाँले हाल जनकपुर र वीरगन्जबाट धान खरिदकै क्रममा रहेको र यस पटक लहानबाट भने धान खरिद गर्न नसकेको जानकारी दिनुभयो । लहानबाट धान खरिद गर्न कम्पनीको कोटाभन्दा तेब्बरभन्दा बढी खरिद गर्नुपर्ने अवस्था आएपछि त्यो परिमाणको खरिद गर्न कम्पनीसँग आर्थिक स्रोत भएपछि खरिद कार्यक्रम स्थगन गरेको उहाँले जानकारी दिनुभयो । खाद्य कम्पनीले यस वर्षका लागि धान खरिदका लागि लिएको लक्ष्यमा ८१ प्रतिशत खरिद गरिसकेको र अबको १० दिनमा सबै विवरण आउँदा करिब ८५/८६ प्रतिशतसम्म पुग्ने अनुगमन रहेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले दुई केन्द्रबाट मसिना धान खरिद गरिएको र त्यहाँका लागि जुटको बोरा अभाव भएर केही ढिला भएको जानकारी दिनुभयो । उहाँका अनुसार जेनजी आन्दोलनका बेला लहानको गोदाममा रहेका जुटका बोरा चोरी भएकाले अभाव भएको हो । लहान केन्द्रले कोटा बढाउनुपर्ने माग गरेको र कम्पनीसँग कोटा बढाएर खरिद गर्न सक्ने अवस्था नभएपछि त्यो खरिद प्रक्रिया नै स्थगत गर्नु परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत आचार्यको भनाइ छ । 

कम्पनीले जुम्लाबाट मार्सी र पोखराबाट जेठोबुढो (उन्नत जात) धान खरिद गर्ने योजना रहे पनि ती धान पाउन समस्या भएपछि खरिद प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले एक लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित ७० करोड रुपियाँ बजेट छुट्याएको छ । गत वर्ष कम्पनीले सात लाख तीन हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर दुई अर्ब ६५ करोड रुपियाँ बजेट छुट्याएको थियो । गत वर्ष व्यापारीले सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी दिएर किसानको धान किनेपछि कम्पनीले लक्ष्यको आधा पनि धान खरिद गर्न सकेको थिएन । गत वर्ष एक लाख २० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो । 

यस वर्ष निजी व्यापारीले किसानलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा आठ सयदेखि एक हजार सस्तो मूल्य दिएको हुँदा कम्पनीलाई लक्ष्य पूरा गर्न समस्या नभएको कम्पनीले जनाएको छ । कम्पनीले औसतमा मोटो धान बजार मूल्यभन्दा आठ सय रुपियाँ र मध्यम धान छ सय रुपियाँभन्दा बढीमा खरिद गरेको जनाएको छ । 

सरकारले चालु आव २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ निर्धारण गरेको छ ।