रलिङ समाचारदाता
रलिङ (हुम्ला), माघ २९ गते । जिल्ला अस्पताल हुम्लामा एक सातादेखि एक्सरे सेवा प्रभावित भएको छ । एक्सरे मेसिनको क्यासेट बिग्रिएपछि एक सातादेखि एक्सरे सेवा ठप्प भएको हो । दैनिक दिन एक्सरे गर्न आएका यहाँका सेवाग्राही सेवा नपाएरै घर फर्कनुपर्ने बाध्यता रहेको छ । जिल्लाका सात वटा गाउँपालिकाभित्रका धेरै स्थानीय नागरिक उक्त सेवा लिन दुई/तीन दिन लगाएर सदरमुकाम सिमकोट पुग्छन् । जिल्ला अस्पतालमा उक्त सेवा बिग्रेको जानकारी गराएपछि सेवाग्राहीले दुःख भोग्नुपर्ने बाध्यता छ ।
दैनिक १० देखि १५ जना सेवाग्राही एक्सरे सेवा नहुँदा फर्किनु परेको स्थानीयले गुनासो गरेका छन् । एक्सरे मात्रै नभएर ल्याबमा पनि समस्या रहेको छ । अस्पतालमा सिटामोलको समेत अभाव भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख भीम बुढाले बताउनुभयो । एक्सरेको क्यासेट बिगे्रपछि सेवा ठप्प रहेको उहाँको भनाइ छ । तीनदेखि चार लाखसम्म एक्सरे मर्मत गर्न खर्च लाग्ने भएकाले ढिलाइ भएको उहाँले बताउनुभयो । उक्त मेसिन निक्स साइमन्स इन्स्टिच्युटले मर्मत गर्ने कुरा भइरहेको निमित्त प्रमुख बुढाले बताउनुभयो । अब छिट्टै मर्मत हुने भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सिटामोल पाँच सय ट्याब्लेट सापटी गरेर चलाएका छौँ, अब दुई सय मात्रै बाँकी छ ।”