• २९ माघ २०८२, बिहिबार

सदरमुकामका चोक चोकमै फोहोरको थुप्रो

blog

मुसीकोट नगरपालिका–१, खलङ्गामा थुप्रिएको फोहोर । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता 

रुकुमपश्चिम, माघ २९ गते । रुकुमपश्चिमको प्रमुख व्यापारिक केन्द्र खलङ्गा र आसपासका बजार क्षेत्रको फोहोर एक महिनादेखि उठ्न सकेको छैन । जिल्ला सदरमुकामसमेत रहेको मुख्य बजार क्षेत्रको फोहोर चोक चोकमा जम्मा हुँदा दुर्गन्ध फैलिन थालेको छ । 

नगरपालिकाले फोहोर फाल्दै आएको वडा नं. २ स्थित सतिपोलेमा स्थानीयले अवरोध गरेपछि एक महिनाभन्दा लामो समयदेखि मुसीकोटका खलङ्गा, बागबजार, सेरीगाउँ, सल्ले, सोलाबाङलगायतका ठाउँको फोहोर उठ्न नसकेको हो । नगरपालिकाले पटक पटक झुक्याएर १३ वर्षदेखि सतिपोलेमा फोहोर फालिरहेको र त्यसले स्थानीयलाई असर गरेको भन्दै त्यस क्षेत्रका स्थानीयले गत पुस २१ देखि फोहोर फाल्न रोकेका छन् । उक्त समयदेखि हालसम्म फोहोर उठ्न सकेको छैन । 

बजारका चोकहरूमा र घर घरमा समेत फोहोर थुप्रिएपछि एकातिर बजार कुरूप बनेको छ भने अर्कातिर दुर्गन्ध फैलिएको छ । मुसीकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले सतिपोलेका स्थानीयसँग दुई पछिल्लो समय दुई पटक छलफल गर्दा पनि समस्या समाधान हुन नसकेको जनाउनुभयो । उनीहरू सतिपोलेमा फोहोर फाल्न नदिने अडानमा रहेका छन् । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि वैकल्पिक ठाउँको समेत खोजी भइरहेको तर अहिलेसम्म कुनै पनि ठाउँ उपलब्ध हुन नसकेको जनाएको छ । उपप्रमुख पुनले सतिपोलेका स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि फोहोर व्यवस्थापन गर्ने ठाउँको खोजी गरिरहेको तर अहिलेसम्म समस्या समाधान हुन नसकेको जनाउनुभयो । वडा नं. १ को गिलबाङनजिकै निपाने भन्ने ठाउँमा डम्पिङ साइटको निर्माण भइरहेकाले काम सकिँदासम्म फोहोर व्यवस्थापनका लागि ठाउँ अभाव भएको उहाँले बताउनुभयो । नगरपालिकाले निपानेको काम सकिँदासम्म सतिपोलेमै फोहोर फाल्न दिन स्थानीयलाई अनुरोध गरेको थियो । स्थानीयले अबदेखि एक दिन पनि फोहोर फाल्न नदिने अडान लिएपछि नगरपालिका समस्यामा परेको छ ।

केही समयका लागि भन्दै नगरपालिकाले १३ वर्ष सतिपोलेमा फोहोर फालेको तर अब एक दिन पनि फोहोर फाल्न नदिने स्थानीयको अडान छ । स्थानीय रमेश खड्काले सुरुमा उक्त जग्गा बसपार्कका लागि भनेर दिएको भए पनि नगरपालिकाले झुक्याएर १३ वर्षसम्म फोहोर फालेको र अब नगरपालिकाको कुनै पनि आश्वासनमा नफस्ने बताउनुभयो ।