सन्तोष दहित
दाङ, माघ २९ गते । दाङको राप्ता गाउँपालिका–५ स्थित सिसहनिया अस्पतालमा ५६३ जनाको निःशुल्क सिकलसेल रगत परीक्षण गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको सिकलसेल एनिमिया तथा थालेसिमियाको बृहत निःशुल्क परीक्षण एवम् परामर्श शिविरमा स्थानीयले सहभागिता जनाएका हुन् ।
नेपाल सरकारको कार्यक्रमअन्तर्गत दाङ जिल्लाका पाँच हजार जनाको सिकलसेल एनिमिया परीक्षण गर्ने लक्ष्यअनुसार पहिलो चरणमा ५६३ जनाको रगत परीक्षण गरिएको प्रतिष्ठानका निर्देशक डा. जनार्दन पन्थीले जानकारी दिनुभयो । तीमध्ये ३२८ महिला र २३५ पुरुष रहेको उहाँले बताउनुभयो । डा. पन्थीले थारू समुदायमा बढी देखिने सिकलसेल रोगको पहिचानका लागि थारू बहुल क्षेत्रमा अभियान सञ्चालन गरिएको बताउनुभयो ।
“हाम्रो उद्देश्य यो रोगको बहाक पत्ता लगाएर यसको साङ्लो तोड्नु हो,” उहाँले भन्नुभयो, “जबसम्म साङ्लो तोडिँदैन तबसम्म यो वंशानुगत समस्या फैलिरहन्छ । त्यसैले हामीले बृहत अभियान थालेका छौं ।” सिकलसेल रोग विशेषज्ञ डा. अजयराज गौतमका अनुसार यो रोग रक्तकोषिकामा हुने अनुवांशिक समस्या हो । उहाँले प्रतिष्ठानमा अहिले ३२० जना सिकलसेल बिरामीले उपचार गराइरहेको जानकारी दिनुभयो ।
जसमा ३१८ जना थारू समुदायका रहेका छने भने दुई जना अन्य समुदायका रहेका छन् । सिकलसेल रोग विशेषगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा बढी मात्रामा देखिएको डा. गौतमले बतानउभुायो ।