• २९ माघ २०८२, बिहिबार

लमजुङका स्थानीय तहको स्वमूल्याङ्कन प्रतिवेदन सार्वजनिकमा ढिलाइ

blog

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको वेभसाईटमा खाली देखिएको लमजुङको प्रतिवेदन । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, माघ २९ गते ।
लमजुङका स्थानीय तहहरुले आफ्नो संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजा सार्वजनिक गर्न ढिलाइ गरेका छन् । कार्यविधि अनुसार निर्धारित मिति सकिदा पनि जिल्लाका कुनैपनि स्थानीय तहहरुले सामान्य प्रशासन मन्त्रालयको वेभसाइटमा संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा नराखेको पाइएको हो ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र मुल्याँकन गरी सार्वजनिक गरिसक्नुपर्ने हुन्छ । तर जिल्लामा अहिलेसम्म कुनैपनि स्थानीय तहको नतिजा सामान्य प्रशासन मन्त्रालयको वेभसाइटमा सार्वजनिक नभएको हो ।

आर्थिक वर्ष ०८१/८२ मा गरेका कामको विभिन्न सूचकका आधारमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र मूल्याङ्कन गरी सार्वजनिक गरिसक्नुपर्ने हुन्छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मको तथ्याङ्कलाई आधार मानेर सबै सूचकको अङ्क गणना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । तर जिल्लाका आठवटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छैन ।

स्थानीय तहहरूले १० वटा मुख्य सूचकका आधारमा आर्थिक वर्ष ०८१/८२ मा आफूले गरेका कामको आफैंले मूल्याङ्कन गरी नतिजा राख्नुपर्ने प्रावधान छ । पालिकाहरूको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सामाजिक समावेशीकरण जस्ता सूचकलाई मूल्याङ्कनको आधार मानिएको हो ।

यस्तै सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयसहितका १० वटा सूचकका आधारमा स्थानीय तहले आफ्नो कामको मूल्याङ्कन गर्ने गरेका हुन् । तर यसमा अङ्कभार निर्धारण गर्दा पुष्टि हुने कागजात वा प्रमाण पनि अनिवार्य रुपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।