नवराज कट्टेल
विराटनगर, माघ २९ गते । एकीकृत जाँचचौकी (आइसिपी) विराटनगरको व्यवस्थापन हेर्न नयाँ कम्पनी भित्रिएपछि त्यसको सफ्टवेयर सिस्टम अपलोड हुन समय लाग्दा जाँचपासमा असर परेको छ । भन्सार क्षेत्रमा प्रवेश गरेका र जाँचपासपछि बाहिरिने मालवाहक सवारीको विवरण अनलाइन प्रणालीमा प्रविष्टि गर्न नसक्दा आइसिपीपरिसरमा सवारी व्यवस्थापन असहज बनेको हो ।
ट्रान्स नेपाल फ्रेट सर्भिसेजले व्यवस्थापनको जिम्मा लिइरहेको आइसिपी विराटनगरमा ट्रान्स नेपाल टिआएस लोजी पार्क प्रालिसमेत भेन्चर्स भएर भित्रिएको छ ।
उक्त कम्पनीका प्रतिनिधि रविकान्त विद्यार्थीले भन्सारको आसिकुडा र राजस्वको आइआरडीले नयाँ सफ्टवेयरलाई अप्रुभल नगर्दाको समस्या मात्रै रहेको बताउनुभयो । उहाँका अनुसार कम्पनी नयाँ भएपछि त्यसको सफ्टवेयर पनि नयाँ हुन्छ, देशका अन्य पाँच भन्सारमा प्रयोग भइरहेकै सफ्टवेयर भए पनि आइसिपी विराटनगरका लागि नयाँ हुँदा अलि समस्या परेको हो ।
विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकीनन्दन शर्माले तयारी नगरी सेवा दिँदा उत्पन्न परिस्थितिले भद्रगोल सिर्जना गरेको आरोप लगाउनुभयो । शर्माका अनुसार भन्सार क्षेत्रमा सफ्टवेयरको समस्या देखाएर पार्किङ नपाउँदा मालवाहक सवारीको जाम लागेको छ । मङ्गलबारदेखि नै यो समस्या देखिएको हो, बुधबार साँझसम्म पनि कायम रहेकाले बिहीबारलाई समेत सवारी व्यवस्थापनमा समस्या हुने अनुमान छ । विराटनगर भन्सार कार्यालयका अधिकृत एवं सूचना अधिकारी विमलकुमार साहले जाँचपासमा कुनै समस्या नरहे पनि सवारी व्यवस्थापनमा अवरोध भएको बताउनुभयो ।
मालवस्तु बोकेका सवारी आइसिपीपरिसरमा भित्रँदा त्यसको वजन लिने र सफ्टवेयरमा प्रविष्ट गर्ने काम व्यवस्थापन हेर्ने कम्पनीले गर्दछ । व्यवस्थापन गर्ने कम्पनीले यस्ता सवारीसँग शुल्क लिन्छ । त्यसका आधारमा उसले पार्किङलगायतका सेवा दिनुपर्ने हुन्छ ।भन्सारले जाँचपास गरिसकेका सवारीसाधन बाहिर निस्कँदासमेत यही कम्पनीले रेकर्ड राख्नुपर्ने हुन्छ । यी दुवै प्रक्रियामा कम्प्युटर प्रणाली अपनाइन्छ । अनि गेटपाससमेत उपलब्ध गराउने गरिन्छ ।
नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गत रहने आइसिपीको व्यवस्थापन निजी कम्पनीलाई दिइन्छ । आइसिपी विराटनगरसम्म कार्गो रेल आउँदा त्यसको व्यवस्थापन गर्ने क्षमता विकास गर्ने गरी नयाँ कम्पनी भित्रिएको दाबी गरिएको छ । सफ्टवेयरमा समस्या देखिएर सवारीसाधन रोक्नु परेपछि कम्पनीका प्रतिनिधि र भन्सार एजेन्ट सङ्घबिच बुधबार दिउँसो दोहोरो भनाभन भएको थियो । साँझसम्म दुवै पक्ष पर्ख र हेरको स्थितिबाट दिन गुजार्नु परेको एजेन्ट सङ्घका अध्यक्ष शर्माले बताउनुभयो ।