गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २९ गते । नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबिसी) को पहिलो बैठक काठमाडौँमा सम्पन्न भएको छ । बैठकमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिले लगानी प्रवर्धन, व्यापार विस्तार, निजी क्षेत्र–निजी क्षेत्र (बिटुबी) सहकार्य तथा सरकार–सरकार (जिटुजी) समन्वयका विषयमा गहन छलफल भएको जनाइएको छ ।
सन २०२४ अप्रिलमा कतारका अमिर सेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा संयुक्त व्यवसाय परिषद् स्थापनासम्बन्धी सम्झौता हस्ताक्षर भएको थियो । उक्त परिषद् नेपाल र कतारका निजी क्षेत्रबिच संवाद, व्यावसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवर्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो । नेपाल र कतारबिच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्य सो परिषद्को छ ।
बैठकमा सहभागीले नेपाल र कतारबिचको आर्थिक सम्बन्धलाई दीर्घकालीन र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकमा नेपाली पक्षले लगानीमैत्री वातावरण सुधार गर्न कानुनी संशोधन, डिजिटल प्रणालीमार्फत स्वीकृति प्रक्रिया सरल बनाउने र सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवर्धनमा सरकारको जोड रहेको जानकारी गराएको थियो । नेपालको ऊर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधिलगायतका विविध क्षेत्रमा कतारको लगानीका लागि आग्रह गरिएको छ ।
यस्तै कतारको प्रतिनिधिमण्डलले दुवै देशका निजी क्षेत्रबिच प्रत्यक्ष सहकार्य र व्यावसायिक आदानप्रदान विस्तार गर्न इच्छुक रहेको धारणा राखेका थिए ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र–निजी क्षेत्र सहकार्य, सरकार–निजी क्षेत्र संवाद र संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया सहज बनाउन महासङ्घ प्रतिबद्ध रहेको बताउनुभयो । “यो बैठकले नेपाल–कतारबिच व्यापार तथा लगानी वृद्धि गर्न महìवपूर्ण योगदान पु¥याउने छ,” उहाँले भन्नुभयो, “महासङ्घ विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण र व्यवसायदेखि व्यवसाय सम्पर्क प्रवर्धनमा पूर्ण रूपमा प्रतिबद्ध छ ।” महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल–कतार संयुक्त व्यवसाय परिषद्लाई औपचारिकतामा सीमित नराखी व्यावहारिक र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य तथा प्रतिनिधिमण्डलका प्रमुख मोहद अहमद एमए अलोबैदेलीले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैङ्किङ सहजीकरण भएमा कतारका लगानीकर्ता दीर्घकालीन लगानीका लागि तयार रहेको जानकारी गराउनुभयो । उहाँले सहकार्यका ठोस क्षेत्र पहिचान गरेमा नेपालमा कतारको लगानीका लागि पहल गर्ने बताउनुभयो । उहाँले यसका लागि जेबिसीको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल भ्रमणका क्रममा कतारको प्रतिनिधिमण्डलले मन्त्री, नेपाल राष्ट्र बैङ्कका गभर्नरलगायत उच्चपदस्थ अधिकारीसँग पनि भेट गरेको थियो । भेटमा नेपाल–कतार द्विपक्षीय लगानी प्रवर्धन, व्यापार विस्तार, सरकार–सरकार तथा निजी क्षेत्र–निजी क्षेत्र सहकार्य हवाई कनेक्टिभिटीलगायतका विषयमा छलफल भएको थियो ।