• २८ माघ २०८२, बुधबार

टी–२० विश्वकप : ऐतिहासिक दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी

blog

रनका लागि प्रयास गर्दै दक्षिण अफ्रिकाका खेलाडी । तस्बिर : एएफपी/रासस

काठमाडौँ, माघ २८ गते । अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराउँदै दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । टी–२० विश्वकपको इतिहासमै दोस्रो सुपर ओभरमा खेल पुगेको यो पहिलो पटक हो । 

अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा बुधबार भएको खेलमा जितका लागि एक सय ८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १९.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८७ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८७ रनको योगफल खडा गरेको थियो । 

पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले १७ रन बनायो । १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पुन: १७ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा धकेलिएको थियो ।

दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २३ रन बनायो । २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९ रनमा समेटिएपछि दक्षिण अफ्रिकाको भाग्य खुलेको हो ।

जितसँगै समूह ‘डी’ मा चार अङ्क बनाएको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । दुई जितसहित शीर्षस्थानमा रहेको न्युजिल्यान्ड नेट रनरेटका आधारमा शीर्षस्थानमा छ । दुई खेल हारेको अफगानिस्तान तथा एक एक खेल हारेको युएई र क्यानडा अङ्कविहीन छ ।