चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २८ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र शिक्षकलाई गाउँपालिकाले सम्मान गरेको हो ।
गाउँपालिकाका सूचना प्रविधि अधिकृत मनोज उप्रेतीका अनुसार प्रतियोगितामा सहभागी भएर स्वर्ण पदक जित्न सफल दुई विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ । एथ्लेटिक्सतर्फ तीन हजार मिटर दौडमा स्वर्ण पदक प्राप्त गर्ने १२ वर्षीया सुस्मिता राई र लङजम्पकी स्वर्ण पदक विजेता सुस्मिता गुरुङलाई जनही १५ हजार रुपियाँ नगदसहित सम्मान गरिएको उप्रेतीले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी अन्य खेलाडी, प्रशिक्षक र खेल शिक्षकलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको गाउँपालिकाले जनाएका छ । गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बू लगायतले खेलाडी, प्रशिक्षक र शिक्षकलाई सम्मान गर्नुभएको पालिकाका शिक्षा शाखाका प्रमुख डिल्लीराज खड्काले जानकारी दिनुभयो ।
जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको आयोजना तथा सिदिङ्वा गाउँपालिकाको संयोजनमा माघ २३ देखि २६ गतेसम्म साब्लाखुमा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्डमा दुई स्वर्ण, एक रजत र पाँच कास्यसहित आठवटा पदक जित्दै सिरिजङ्घा गाउँपालिका जिल्लाका नौ स्थानीय तहमध्ये सातौं भएको छ । प्रतियोगितामा २३ स्वर्णसहित ५५ पदक जितेर मैवाखोला गाउँपालिका प्रथम भएको थियो ।