बबई समाचारदाता
बबई (बर्दिया), माघ २८ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारी निकाय, उम्मेदवारका गतिविधि गाउँघरकेन्द्रित हुन थालेका छन् । दैनिक जसो उम्मेदवार गाउँघरमा मत माग्दै, विकासको एजेन्डा बाँड्दै हिँड्ने गरेका छन् भने मतदाता भने सधैँको आश्वासनसँग आफ्नो मत नसाट्ने वचन दिन थालेका छन् ।
दुई वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा उम्मेदवार र मतदाताका आआफ्ना विचार सार्वजनिक हुन थालेका छन् । मतदाताले कुलो, पानी पँधेरो, बाटोघाटोको कुरा उठाउन थालेका छन् भने उम्मेदवारले मुलुकमा राजनीतिक स्थिरताका लागि भन्दै आआफ्ना दललाई मत माग्न थालेका छन् ।
जिल्लाका सहर हुन् वा गाउँघरका चिया पसलमा राजनीतिक चर्चा परिचर्चा चल्न थालेको छ । कतिपय उम्मेदवार मतदातालाई भेट्न खेतबारीमै पुग्न थालेका छन् ।
मतदाताले आफ्नो रोजाइमा परेका उम्मेदवारको चर्चासमेत सुरु गरेका छन् । राजनीतिक दल र उम्मेदवार कार्यकर्तासहित गाउँ गाउँमा भोट माग्न व्यस्त रहँदा मतदातामा उत्साह देखिएको छ ।
गत निर्वाचनमा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका सञ्जय गौतम र क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले जित हासिल गरेका थिए । विगतका निर्वाचन जस्तो यस पटक निर्वाचन आफ्नो पोल्टामा पार्न ती उम्मेदवार सक्रिय भइरहेका छन् तर विगतको विरासत जोगाउन निकै मेहनत गर्नुपर्ने देखिएको छ ।
गुलरिया नगरपालिका–५ का अशोककुमार केसीले निर्वाचनको गहन चर्चा सुरु भइसकेको बताउनुभयो । दुई निर्वाचन क्षेत्र रहेको बर्दिया जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी ३९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । नयाँदेखि पुराना र विगतका निर्वाचन जितेका र निर्वाचनमा पराजय भोगेकाले समेत यो चुनावमा भाग लिएका कारण चुनावी प्रतिस्पर्धा तीव्र हुने देखिएको छ ।
गुलरिया नगरपालिका–५, सगरमाथा टोलका नीराजन उप्रेतीले निर्वाचनको मिति नजिकिएसँगै मतदातामा समेत उत्साह देखिएको बताउनुभयो । माघको अन्तिम साता लागिसकेपछि भने यहाँका मतदाता अब निर्वाचन हुन्छ नै भन्ने कुरामा पुगेको उहाँले बताउनुभयो ।
गुलरिया नगरपालिका–४ का सुबोध मल्लले केही दिनअघिसम्म निर्वाचन हुँदैन कि भन्ने जस्तो भए पनि पछिल्ला दिनमा देखिएको चुनावी वातावरणले निर्वाचन हुने पक्का जस्तो भएको बताउनुभयो ।