शशिधर पराजुली
विराटनगर, माघ २७ गते । मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीले अवैध हतियार र सञ्चार सेट (वाकीटकी)सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका वडा नं. २ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बू र वडा नं. ३ बस्ने २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रप्रनाउ) हरिनन्दन चौधरीका अनुसार, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त टोलीले माघ २६ गते साँझ सिलास लिम्बूको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा लिम्बू सुत्ने कोठाबाट मेडिएन युएसए लेखिएको एक थान पेस्तोल, दुई थान बाओफेङ लेखिएको ह्यान्डसेट र भरुवा बन्दुक जस्तो देखिने एक थान काठको हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त हतियार र सञ्चार सेटमा प्रेमबहादुर गुरुङको समेत संलग्नता देखिएपछि प्रहरीले उनलाई पनि घरैबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर हातहतियार खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।