• २७ माघ २०८२, मङ्गलबार

हुम्लामा माघमै फुल्यो लालीगुराँस

blog

वनमा फुलेको लालीगुराँससँग रमाउँदै पैदल यात्रुहरू। तस्बिर : राजन रावत

हुम्ला, माघ २७ गते । सामान्यतया चैत–वैशाख महिनामा फुल्ने लालीगुराँस यस वर्ष भने माघमै फुलेको छ। मौसममा आएको परिवर्तनसँगै तापक्रम वृद्धि भएपछि लालीगुराँस माघ महिनामै फुलेको हो।

ताँजाकोट गाउँपालिका–३ मासपुरका आइते बुढाले यतिबेला वनमा लालीगुराँस फुलेर जंगल राताम्मे देखिने गरेको बताउनुभयो। अन्य वर्ष चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष भने माघमै फुलेको उहाँको भनाइ छ। मासपुर गाउँ जाने बाटोको जंगलमा विशेषगरी लालीगुराँस फुलेको देखिन्छ।

लालीगुराँस फुलेपछि उक्त बाटो भएर मासपुर जाने पैदल यात्रुहरू गुराँसका रुखमा चढ्ने, रमाउने र फोटो खिच्नेहरूको भीड लाग्ने गरेको स्थानीयले बताएका छन्। धेरै पैदल यात्रुले रुखबाट गुराँस टिपेर कानमा लगाउने गरेको पनि देखिन्छ।

मासपुरकै अर्का स्थानीय केशबहादुर रोकायाले अचम्मित हुँदै यस वर्ष बेमौसममै लालीगुराँस फुलेको बताउनुभयो। “सधैं चैतको अन्त्य र वैशाख महिनामा फुल्ने लालीगुराँस यस वर्ष भने अहिले नै फुलेको छ,” उहाँले भन्नुभयो।

दक्षिणी हुम्लाका खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका वन क्षेत्रमा लालीगुराँस पाइन्छ। पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण तापक्रम वृद्धि भएपछि माघमै लालीगुराँस फुलेको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले बताउनुभयो। तापक्रम वृद्धि भएसँगै हिमाली क्षेत्रमा नफल्ने फलफूल तथा तरकारीसमेत फल्न थालेको र यो सबै मौसम परिवर्तनकै प्रभाव भएको उहाँको भनाइ छ।

हुम्लाका अन्य स्थानका वन क्षेत्रमा भने लालीगुराँस फुलेको पाइएको छैन। यहाँ फुल्ने लालीगुराँसको फूल टिप्ने बाहेक अन्य विशेष उपयोग भएको पाइँदैन।