• २६ माघ २०८२, सोमबार

भेडा बाख्रामा ‘ओभरइटिङ रोग’ पुष्टि

blog

फाइल तस्बिर ।

शङ्कर केसी

शारदा (सल्यान), माघ २६ गते । सल्यानमा मरेका भेडा बाख्रामा ‘ओभरइटिङ रोग’ पुष्टि भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा मरेका बाख्रा र भेडाबाट सङ्कलन गरिएको नमुना परिक्षण गर्दा एन्टेरोटोक्सेमिया टाइप डी पोजेटिभ देखिएको हो । 

छत्रेश्वरी गाउँपालिका-१, फारुलिबोटमा गत पुसमा किसानले पालेका ६ वटा बाख्रा र ३ वटा भेडा मरेका थिए । गाउँपालिकाले मरेका भेडा बाख्राको नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँमा परीक्षणका लागि पठाएको थियो । नमुना परीक्षण गर्दा एन्टेरोटोक्सेमिया टाइप–डी पोजेटिभ देखिएको हो ।

परीक्षण प्रतिवेदन अनुसार ती पशुमा भेडा बाख्रामा देखिने ‘ओभरइटिङ रोग’ पुष्टि भएको गाउँपालिकाका पशु चिकित्सक डा. रुकेश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ओभरइटिङ रोग अचानक राम्रोसँग मोटाएका र स्वस्थ देखिने भेडा बाख्रामा देखिने गम्भीर रोग हो । धेरै दाना, दूध वा हरियो घाँस एक्कासि धेरै खुवाउँदा, अचानक आहार परिवर्तन गर्दा तथा अत्यधिक कार्बोहाइड्रेटयुक्त खाना खुवाउँदा यो रोग लाग्ने गर्दछ । आन्द्रामा स्वाभाविक रूपमा रहेको ब्याक्टेरियाले विष (टक्सिन) उत्पादन गरेपछि जनावर एक्कासि मर्ने गर्दछ ।

यो रोग लागेका भेडा बाख्रामा अचानक मृत्यु हुने, झट्का लाग्ने, घुमिरहने, टाउको ठोक्ने, असन्तुलन हुने, कहिलेकाहीँ अन्धोपन देखिने तथा पखाला लाग्ने जस्ता लक्षण देखिने र  केही घण्टापछि वा एक दिनभित्रै पशुको मृत्यु हुनसक्ने डा. घिमिरेले जानकारी दिनुभयो ।

यसरी अचानक मर्ने रोगबाट जोगिन नियमित खोप र सन्तुलित आहार नै मुख्य उपाय रहेको उहाँले बताउनुभयो । धेरै मोटाएका भेडा बाख्रामा सबैभन्दा बढी जोखिममा रहने भएकाले किसानले विशेष ध्यान दिनु आवश्यक रहेको घिमिरेको भनाइ छ ।