नेत्र शाही
जुम्ला, माघ २६ गते । जुम्लामा माटोको ढिस्कोले पुरिएर आमाको मृत्यु भएपछि पाँच बालबालिका समस्यामा परेका छन् । आमाको अप्रत्याशित दुर्घटनामा मृत्यु भएपछि ती बालबालिका अभिभावकको अभावमा कठिनाइमा परेका हुन् ।
जुम्ला हिमा गाउँपालिका–१, बड्कीकी करिब ३७ वर्षीया हाँसु विकको गत बिहीबार (माघ १५ गते) माटोको ढिस्कोले पुरिएर मृत्यु भएको थियो । उहाँको मृत्युपछि परिवार र गाउँ अहिले शोकमा छन् । श्रीमान् ददिमल विकलाई एकातिर धार्मिक संस्कारअनुसारका कामकाज गर्नुपर्ने बाध्यता छ भने अर्कोतिर पाँच बालबालिकाको हेरचाह गर्न कठिनाइ भइरहेको छ ।
ददिमलका अनुसार उनकी श्रीमती घरबाट करिब एक किलोमिटर टाढा डाँडामा माटो कोर्न गएकी थिइन् । माटो कोर्ने क्रममा ढिस्को खस्दा पुरिएर उनको मृत्यु भएको हो । मृत्युपछि तीन वर्षीय छोरा समिर कामी, १३ वर्षीय शंकर, १५ वर्षीय सुनिल कामी, १७ वर्षीया छोरी सुर्जा र १९ वर्षीया सृजनाको हेरचाह गर्न आफूलाई कठिन भइरहेको उहाँले बताउनुभयो । विशेषगरी सानो बालकको स्याहार गर्न झनै समस्या भएको उहाँको भनाइ छ ।
ददिमलका काका वली सुनारका अनुसार माटो कोर्न गएको समयमा माटोको खान भत्किएपछि उनी पुरिएका थिए । स्थानीयका अनुसार दिउँसो दुई जना महिला माटो कोर्न करिब एक किलोमिटर टाढा डाँडामा गएका थिए । माटो कोर्दै गर्दा ढिस्को भत्किएर उनी पुरिएपछि अर्की महिला सहयोग बोलाउन गाउँ फर्किएकी थिइन्, तर माटोले पूर्ण रूपमा पुरिएकाले उद्धार गर्न जाँदाजाँदै बचाउन नसकिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको पुष्टि गरेको छ । घटनालगत्तै उपचारका लागि नजिकको कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइए पनि बाटोमै उनको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक प्रेम वलीले जानकारी दिनुभयो ।
स्थानीयले पाँच बालबालिकाको शिक्षा–दीक्षा तथा जीवनयापनमा समस्या हुने भएकाले अध्ययनका लागि सहयोग गर्न सम्बन्धित निकाय र सहयोगी संस्थाहरूसँग आग्रह गरेका छन् । श्रीमतीको निधनपछि घरको कामकाज ठप्प भएको र बालबालिका पालनपोषणमा समस्या परेको ददिमलले बताउनुभयो ।