जनार्जन खत्री
सर्लाही, माघ २६ गते । सर्लाहीका किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका खोप फोकल पर्सन सुशील झाका अनुसार जिल्लाभर २० वटै पालिकामा कक्षा ६ मा अध्ययनरत् किशोरीलाई क्यान्सरविरुद्धको खोप आइतबारबाट लगाउन सुरु गरिएको हो ।
यसअघि गत वर्ष जिल्लामा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी र विद्यालय बाहिर रहेका ११ वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप लगाइएको थियो ।
गत वर्ष अभियान सञ्चालन गर्दा अहिले ७ देखि १० सम्म अध्ययन गर्ने कोही किशोरी खोप लगाउन छुटेको भए उनीहरुलाई समेत यो पटक खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । यस्तै विद्यालय बाहिर रहेका १० वर्ष पुगेका किशोरीलाई पनि खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन झाले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने र केही विद्यालय बाहिर रहेकासमेत गरेर १२ हजार २८९ किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य रहेको छ । आइतबारदेखि आगामी २९ गतेसम्म जिल्लाको २० वटै पालिकामा छात्राहरुलाई विद्यालयमै पुगेर र विद्यालय बाहिर रहेका किशोरीलाई समुदायस्तरको खोप केन्द्रमा भेला पारेर खोप लगाइने छ ।
अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट पनि खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन झाले बताउनुभयो । सर्लाहीमा गएको वर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षसम्मका ४२ हजार किशोरीलाई एचपिभी खोप लगाइएको थियो ।
नेपालमा क्यान्सर रोगमध्ये पाठेघरको मुखमा हुने क्यान्सरबाट हुने मृत्युदर दोस्रो स्थानमा रहेकाले सरकारले गत वर्षदेखि देशभरका किशोरीहरुलाई विद्यालयस्तरमै भ्याक्सीन लगाउन सुरु गरेको हो ।