• २६ माघ २०८२, सोमबार

पिएम कप : प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

blog

सुधा देव
भारदह (सप्तरी), माघ २६ गते ।
राजविराजमा सञ्चालन भइरहेको प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता (पुरुष) अन्तर्गत सप्तरीले लगातार दोस्रो जित हात पारेको छ । आइतबार सम्पन्न खेलमा सप्तरीले महोत्तरीलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थिति जनाएको हो ।

सप्तरी क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा टस जितेर सप्तरीले पहिले फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको महोत्तरीले निर्धारित ५० ओभर पूरा खेल्न नसक्दै ४५ ओभर ३ बलमा सबै विकेट गुमाएर १६५ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्‍यो ।

महोत्तरीका लागि नवीनकुमार यादवले सर्वाधिक ३९ रनको योगदान दिनुभयो भने अभिषेक अधिकारीले ३२ रन बनाउनुभयो । त्यसैगरी अभिषेक तिवारीले २१ रन र आदित्य मण्डलले ११ रन जोड्दा अन्य ब्याट्सम्यान उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ सप्तरीका अभिषेक कार्की सर्वाधिक प्रभावशाली देखिनुभयो । उहाँले ३ विकेट लिनुभयो भने नितेश यादव र अजय यादवले समान २–२ विकेट लिएर टोलीलाई लक्ष्य सीमित राख्न महत्त्वपूर्ण भूमिका खेल्नुभयो ।

१६६ रनको लक्ष्य पछ्याएको सप्तरीले ३८ ओभर २ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । सप्तरीको जितमा भोला साहले ३० रनको महत्त्वपूर्ण पारी खेल्नुभयो भने पप्पु यादव (बी) ले २९ रन जोड्नुभयो । रोहन विकले २६ रन बनाउँदा अभिषेक कार्कीले ब्याटिङतर्फ पनि २३ रनको योगदान दिनुभयो । त्यसैगरी रोबिन सिंहले १८ रन बनाउनुभयो ।

महोत्तरीका लागि बलिङतर्फ रमेश सहनीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिनुभयो । नितेश यादवले २ विकेट लिँदा आकाश मण्डलले १ विकेट हात पारे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलको उत्कृष्ट प्रदर्शनका आधारमा सप्तरीका अभिषेक कार्की ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो । उहाँलाई सप्तरी क्रिकेट संघका सदस्य वीरेन्द्र यादवले नगद १ हजार ५०० रुपियाँसहित कप प्रदान गर्नुभयो ।

सप्तरी क्रिकेट संघका सदस्य रोशन मण्डलका अनुसार प्रदेशस्तरीय छनोट प्रतियोगिताले स्थानीय प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउन महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ । यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।