• २६ माघ २०८२, सोमबार

सप्तरीमा स्रोत नखुलेको १३ लाखसहित एकजना पक्राउ

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी) माघ २६ गते ।
सप्तरीको बलानबिहुल गाउँपालिकाबाट स्रोत नखुलेको रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ४ स्थित बेल्ही–चन्ही सडक खण्डबाट स्रोत नखुलेको १३ लाख रुपियाँसहित सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ४ घर भएका २३ वर्षीय हरिशंकर कुमार साहलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

बलानबिहुलस्थित बेल्हीदेखि चन्हीतर्फ गइरहेको प्र०२–०१–००२प४४८१ नम्बरको मोटरसाइकलमा फिल्टर बक्स र हेलमेटमा लुकाइछिपाइ ल्याउँदै गरेको १३ लाखसहित साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

उहाँले पक्राउ परेका साहको साथबाट एकहजार र पाँचसय दरका गरी नेपाली १३ लाख रुपियाँ बरामद गरिएको बताउनुभयो ।
स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

भारतीय सिमासँग जोडिएको उक्त पालिकामा हुण्डी र लागुऔषधको कारोबार मौलाउँदै गएको सुचनापछि प्रहरीले त्यसक्षेत्रमा निगरानी बढाएको छ ।