लमजुङ समाचारदाता
लमजुङ, माघ २६ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लमजुङमा स्वयंसेवकसहित एक हजार ७५० कर्मचारी खटाइने भएको छ । एउटा निर्वाचन क्षेत्र भएको लमजुङमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी करिब एक हजार ७५० कर्मचारी खटाइने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
लमजुङमा १३० मतदान स्थल, १९२ मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी खटाइने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लमजुङमा १९३ मतदान अधिकृत, १९३ सहायक मतदान अधिकृतसँगै एउटा मतदान केन्द्र, सहायक कर्मचारी र स्वयंसेवक तीन/तीन जना र एक जना कार्यालय सहयोगी गरी नौ जना कर्मचारी खटाइने तयारी गरिएको सहायक निर्वाचन अधिकृत रामबन्धु गौतमले बताउनुभयो ।
निजामती कर्मचारीबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतमा प्राथमिकता दिइएको र अपुग कर्मचारीलाई शिक्षकबाट ल्याउने तयारी गरिएको छ । मतदान स्थलको पहिलो घेरा र मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी खटिने भए पनि बाहिरी घेरामा आवश्यकताका आधारमा सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटिने भएको छ । लमजुङमा ३० मतदान स्थल अति संवेदनशीलको सूचीमा रहेका छन् । सुरक्षा चुनौतीको आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ ।
जसमध्ये सुरक्षा निकायको प्रतिवेदनका आधारमा लमजुङमा ३० मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको हो । त्यसै गरी ७७ मतदान स्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । २३ मतदान स्थल सामान्य रहेको सुरक्षा समितिको विश्लेषण छ । लमजुङमा एक लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार छ सय जना रहेका छन् ।