• २६ माघ २०८२, सोमबार

बागलुङमा सेतो रगत बनाउने उपकरण सञ्चालनमा

blog

नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रमा रहेको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पोनेन्ट सेन्ट्रीफ्युज) मेसिन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) माघ २६ गते ।
नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रमा रहेको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पोनेन्ट सेन्ट्रीफ्युज) सञ्चालनमा आएको छ । उक्त उपकरण विगत तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको थियो ।

रक्तसञ्चार केन्द्रका प्रमुख गुरुदत्त शर्माका अनुसार माघ १६ गतेदेखि सेतो रगत उत्पादन सुरु गरिएको हो । उत्पादनपछि पहिलो पटक धौलागिरि प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौलाका बिरामीका लागि दुई युनिट सेतो रगत प्रयोग गरिएको उनले जानकारी दिनुभयो । सेतो रगत पाँच दिनसम्म मात्र भण्डारण गर्न सकिने भएकाले बिरामीको आवश्यकता  अनुसार तत्काल उत्पादन गरिने शर्माले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी बागलुङका अध्यक्ष जगन्नाथ आचार्यका अनुसार गण्डकी प्रदेश सरकार, बागलुङ नगरपालिका, बागलुङ समाज जापान तथा आन्तरिक स्रोतको सहयोगमा मेसिन सञ्चालनमा ल्याइएको बताउनुभयो  । सुरुमा प्रदेश स्वास्थ्य मन्त्रालयले करिब २३ लाख रुपैयाँ मूल्यको मुख्य मेसिन उपलब्ध गराएको थियो । त्यसपछि विभिन्न निकायको सहयोगमा अन्य उपकरण तथा सामग्री खरिद गर्दा झण्डै ७५ लाख रुपियाँ लागतमा मेसिन सञ्चालनमा आएको आचार्यले बताउनुभयो ।

उहाँका  अनुसार अझै जनशक्ति, बेड तथा अन्य व्यवस्थापनका लागि करिब २५ देखि ३० लाख रुपियाँ खर्च आवश्यक रहेको छ । मेसिन सञ्चालनमा आएसँगै डेङ्गु, कोरोना, क्यान्सर तथा  सर्पले टोकेका बिरामीहरू सेतो रगतका लागि पोखरा, काठमाडौंलगायतका अस्पतालमा जानुपर्ने बाध्यता हटेको अध्यक्ष आचार्यले जानकारी गराउनुभयो ।