अमरराज नहर्की
तनहुँ, माघ २६ गते । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले लामो समयदेखिको जग्गा अभावको समस्या सुल्झाउँदै स्तरोन्नतिका लागि आवश्यक जग्गा प्राप्ति गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयअनुसार जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय र भेटेरीनरी अस्पतालका नाममा रहेको कुल आठ रोपनी जग्गा अस्पताललाई उपयोग गर्न दिइएको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलामोहन वाग्लेले जग्गा प्राप्तिसँगै अस्पतालको स्तरोन्नतिमा देखिएको मुख्य गाँठो फुकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जग्गा अभावकै कारण ५० शय्याको स्वीकृत क्षमताअनुसार भौतिक पूर्वाधार निर्माण गर्न सकेका थिएनौँ । अब जग्गाको भोगाधिकार प्राप्त भएसँगै सुविधासम्पन्न भवन निर्माण र विशेषज्ञ सेवा विस्तार गर्ने हाम्रो सङ्कल्पले मूर्त रूप लिने निश्चित भएको छ । यो दमौलीवासी र छिमेकी जिल्लाका नागरिकका लागि गौरवको विषय हो ।’’
मालपोत कार्यालय तनहुँका प्रमुख मालपोत अधिकृत राजेन्द्रप्रसाद पौडेलका अनुसार माघ १९ गते अस्पताललाई जग्गा उपयोगको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । जसमा जिल्ला समन्वय समितिको ५ रोपनी, कृषि विकास कार्यालयको २ रोपनी र भेटेरीनरी अस्पतालको १ रोपनी जग्गा समावेश छ । उक्त जग्गालाई व्यापारिक प्रयोजनमा लगाउन नपाइने र स्वास्थ्य सेवाकै लागि मात्र प्रयोग गर्नुपर्ने शर्त तोकिएको छ ।
अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जग्गा प्राप्त नहुँदा खुम्चिएर सेवा दिनुपर्ने बाध्यता अब अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । “बिरामीको चाप अत्यधिक भए पनि ठाउँको अभावमा हामीले सोचेजस्तो सेवा विस्तार गर्न सकेका थिएनौँ,’’ डा. बरालले भन्नुभयो, “अब हामी अत्याधुनिक प्रविधियुक्त शय्या, थप विशेषज्ञ कक्ष र प्रशासनिक भवन निर्माणको प्रक्रियामा तुरुन्तै अघि बढ्नेछौँ ।
जग्गाको टुङ्गो लाग्नु नै अस्पतालको आधुनिक विकासका लागि प्रस्थान बिन्दु हो ।’’ गण्डकी प्रदेश सरकारले अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरिसकेको र सोही अनुसार ८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी समेत स्वीकृत भइसकेको छ । वि.सं. २०३४ मा स्वास्थ्यचौकीका रूपमा स्थापित यो अस्पतालले पछिल्ला वर्षहरूमा सेवाग्राहीको विश्वास जित्दै आएको छ । बरालका अनुसार अस्पतालले अटोक्लेप्स भवन, आँखा तथा दाँत सेवा, भेन्टिलेटरसहितको आईसियू, डिजिटल एक्सरे र डायलाइसिस जस्ता महत्त्वपूर्ण सेवाहरू प्रदान गर्दै आएको छ ।