• २६ माघ २०८२, सोमबार

गोर्खे साइँलोलाई जगत्रदेवी साहित्य सम्मान

blog

वरिष्ठ साहित्यकार ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) लाई “जगत्रदेवी साहित्य सम्मान– २०८२” दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, माघ २६ गते ।
नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४ औँ जन्मजयन्ती तथा कविशिरोमणि लेखनाथ पौड्यालको ६०औँ स्मृति दिवसको सन्दर्भमा गल्याङ काव्य उत्सव तथा स्रष्टा सम्मान गरिएको छ ।

गल्याङ नगरपालिका– १ मा गरिएको काव्य उत्सवमा पल्लव साहित्य प्रतिष्ठान, भरतपुर, चितवनका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) लाई “जगत्रदेवी साहित्य सम्मान– २०८२” दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

जगत्रदेवी साहित्य सङ्गमले गरेको काव्य उत्सवमा आमेरिका बस्ने समाजसेवी डा. विश्व विके खड्कालाई समेत दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो । उत्सवमा सङ्गमका उपाध्यक्ष लिलाबल्लौ अर्यालले बालकृष्ण सम र लेखनाथ पौड्यालको साहित्यिक चर्चा गर्नुभएको थियो ।  

कार्यक्रममा साहित्यकार दुर्गा राना, दिलीप मगर, गीता थापा, पितम खड्का, प्रेमबन्धु सुवेदी, झवनाथ बस्याल, नारायणप्रसाद न्यौपाने, गुरुप्रसाद ढकाल, पार्वती थापा, भोजकुमारी पाण्डे, ढालबहादुर केसी, सनतकुमार गैरे, लोकहरि पाण्डे क्षितिज, वसन्त खनाल, सूर्यप्रसाद डुम्रे, छविलाल अधिकारी, शोभाखर भट्टराई, नोलराज भण्डारी, लोकनाथ खराल, मित्रलाल गौतम, पुष्कर अथक रेग्मी, गोविन्द खनाल, डिल्लीराम भण्डारी, चण्डिकाप्रसाद भट्टराई लगायतले अग्रज साहित्यकारका बारेमा कविता वाचन गर्नुभएको साहित्यिक अभियन्ता मिलन समीरले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष झविलाल पाण्डेले साहित्यिक संस्थालाई सशक्त बनाउन कार्यपालिकामा आवाज उठाउने र आफ्नो वडाको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।