• २६ माघ २०८२, सोमबार

बागलुङमा दुई हजार ३०२ जना बालिकालाई एचपिभि खोप लगाइँदै

blog

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले एचपीभी खोप लगाइने बारे गरिएको अन्तक्रिर्या कार्यक्रम । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) माघ २६ गते ।
बागलुङमा दुई हजार तीन सय दुई जना बालिकालाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको छ । आगामी फागुन १ देखि १५ गतेसम्म जिल्लाका २२० विद्यालयमा अध्ययन गर्ने र विद्यालयभन्दा बाहिरका सात जना किशोरीलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको हो ।

विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई खोप दिइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमा केन्द्र स्थापना गरी खोप लगाइनेछ । गत वर्ष ६ देखि १० कक्षामा अध्ययन गर्ने र विद्यालय बाहिरका १०–१४ वर्षका ११ हजार १७७ जनालाई खोप लगाइएको थियो ।

गत वर्ष अभियानका रूपमा लगाइएको खोप यस वर्ष नियमित लगाउन सुरु गरिएको  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताउनुभयो । अघिल्लो वर्षभन्दा यस वर्ष खोप लगाउन मापदण्ड फरक भएको उहाँले  बताउनुभयो  । अघिल्लो वर्ष ६–१० कक्षामा अध्ययन गर्ने र १०–१४ वर्षका किशोरीलाई खोप लगाएकोमा यस वर्ष कक्षा ६ मा अध्ययन गर्ने र विद्यालयबाहिरका १० वर्षका किशोरीलाई खोप दिइने शर्माले जानकारी दिनुभयो  । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ साल असोजसम्म जन्मिएकाले यो खोप नपाएकाले गत वर्षदेखि खोप अभियान प्रारम्भ भएको थियो ।

शर्माले भन्नुभयो, ‘‘जिल्लाका दशवटै स्थानीय तहमा कक्षा ६ देखिमाथि अध्ययन हुने विद्यालयमा अध्ययन गर्ने किशोरीलाई यो खोप लगाउँदै छौँ, खोप लगाउनका लागि जनशक्ति व्यवस्थापन, तालिम दिनेलगायत तयारी भइरहेको छ । विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा किशोरीलाई पायक पर्ने ठाउँमा पुगेर खोप लगाइनेछ ।’’ खोप सुरक्षित रहेकाले सम्बन्धित सबैलाई लगाउन उहाँले आग्रह गर्नुभएको थियोे ।

बागलुङमा  केन्द्रीय खोप निर्देशिका बमोजिम नै फागुन महिनालाई खोप महिनाको रुपमा यो खोप सञ्चालन गर्ने मिति तय भएको छ । बागलुङ नगरपालिकाभित्र फागुन १० देखि १५ गतेसम्म, गलकोट नगरपालिकामा फागुन १ देखि ५ गतेसम्म, ढोरपाटन नगरपालिकामा फागुन १० देखि १४ गतेसम्म र जैमिनी नगरपालिकामा फागुन १० देखि १२ गतेसम्म घरदैलो गरिने भएको हो । अन्य ६ गाउँपालिकामा पनि तोकिएको समय राखिएको छ । उक्त समयभित्र स्वास्थ्यकर्मीहरु विद्यालय र घरघरमा पुगेर खोप लगाउने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले बताएको छ ।