• २६ माघ २०८२, सोमबार

कर्णाली र सुदूरपश्चिममा कला प्रदर्शनी

blog

सुर्खेत समाचारदाता

सुर्खेत, माघ २६ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा तेस्रो कर्णाली प्रदेशस्तरीय ललितकला प्रदर्शनीको करिब आठ हजारले रैथाने कलाकृतिको अवलोकन गरेका छन् । प्रतिष्ठानका प्राज्ञ एवं परम्परा कला विभाग प्रमुख पाल्साङ्मो लामाले करिब आठ हजारले कलाकृति अवलोकन गरेको बताउनुभयो ।  कलाकृति अवलोकन गर्नेमा धेरै जसो विद्यार्थी भएको उहाँको भनाइ छ । 

प्रदर्शनीमा कार्टुन, फोटोग्राफी, हस्तकला, मूर्तिकला गरी आठ विधाका करिब एक सयभन्दा बढी कलाकृति राखिएका छन् । प्रदर्शनीमा कर्णालीका कलाकारले बनाएका कर्णालीको पर्यटन, रहनसहन, वेशभूषालगायतका चित्र राखिएका छन् भने थारू समुदाय र राउटे समुदायले बनाएका हस्तकलाका सामग्री पनि राखिएका थिए । लामाले थारू र राउटे समुदायले बनाएका हस्तकलाका सामग्रीमा अवलोकनकर्ताको चासो रहेको बताउनुभयो । प्रदर्शनीमा प्रदेशका रैथाने कला संस्कृतिका चित्र, मूर्तिहरू रहेकाले विद्यार्थीको अवलोकनबाट नयाँ पुस्तालाई हेर्ने र सिक्ने अवसर मिलेको उहाँको भनाइ छ ।  

प्रतिष्ठानका प्राज्ञसभा सदस्य निरमाया लामाले प्रदर्शनीले ललितकलाको प्रचारप्रसार बढाउन सहयोग पुगेको बताउनुभयो । उहाँले स्थानीय तथा प्रदेशमा लुकेका कलाकार र कलाको विकासमा टेवा पुग्ने यस्ता प्रदर्शनीलाई प्रदेश सरकारले पनि अपनत्व लिनुपर्ने सुझाव दिनुभयो । यसै गरी ‘ललितकलाको अभियान’ भन्ने मूलभावमा रही ‘सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ सुरु भएको छ । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र कैलाली बहुमुखी क्याम्पसका प्रमुख लोकबहादुर विष्टले उद्घाटन गर्नुभयो । 

प्रदर्शनीमा सुदूरपश्चिम प्रदेशका समसामयिक चित्रकला, मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककलालगायतका कलाकृति प्रदर्शनीमा राखिएको प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख र सुदूरपश्चिम प्रदेश समन्वय समिति संयोजक प्रदीप अधिकारीले बताउनुभयो । कार्यक्रममा थारू कल्याणकारी सभा जिल्ला कार्यसमिति कञ्चनपुरका सभापति सानु चौधरीसँगै कलाकार, विद्यार्थी, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनी माघ २६ गते सम्पन्न हुँदै छ ।