काठमाडौँ, माघ २६ गते । काठमाडौँ महानगरभित्रका सामुदायिक कुकुरको सहयोगका लागि ‘पेन्टिङ फर कज’ शीर्षकको एकदिने चित्रकला सिर्जना कार्यक्रमको आयोजना गरिएको छ ।
काठमाडौँ लोकल र कला यात्रा बाई साक्स् संस्थाद्वारा राजधानीमा आयोजित चित्रकला कार्यक्रममा स्वस्फूर्त रूपमा ८० जनाले सहभागिता जनाएका हुन् । स्वयंसेवक अनुपविनोद खनालले सामाजिक सञ्जालमा आह्वान गरी आयोजित सो चित्रकला सिर्जना कार्यक्रममा सहभागीबाट चित्र बनाउन नाम दर्ताका लागि प्रतिव्यक्ति एक हजार रुपियाँ उठाइएको र सो रकमको ४० प्रतिशत काठमाडौँ महानगर वडा १२, टेकु क्षेत्रका सामुदायिक कुकुरका लागि खर्च गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाले चित्रकलाका लागि आवश्यक रङ सिसाकलम र क्यानभास उपलब्ध गराएको र सहभागीले आफूले बनाएको चित्रकला लिएर जान पाउने व्यवस्थासहित चित्रकला कार्यक्रमको आयोजना गरिएको थियो ।